स्याङ्जा : स्याङजाका विभिन्न ठाउँमा गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका हुन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतमडाँडाका १६ वर्षीय विष्णु दमाईको पनि पहिरोमा परी मृत्यु भएको हो।

स्थानीय बाबुराम दमाई र जगतबहादुर दमाईको घरमाथिबाट खसेको पहिरोले दुवै जनाको घर पूर्णरुपमा क्षति पुर्‍याएको हो । विष्णु बाबुरामका छोरा हुन् । राती २ बजे आएको पहिरोले विष्णुलाई पुरेको हो । बिहान साढे ५ बजे उनलाई उद्धार टोलीले मृत अवस्थामा भेटाएको डीएसपी अधिकारीले बताउनुभयो।

एक जनाको उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको छ । प्रहरीका अनुसार परिवारका ८ जना सदस्य भने बेपत्ता छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा जुटेको डीएसपी अधिकारीले बताउनुभयो ।

यसैगरी स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृतकको नाम नखुलिसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो।

 

Your Views
Related News