काठमाडौँ : व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग ‘वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेसको अनुसन्धान कहाँ पुग्यो ?’ भन्दै जवाफ मागेको हो । समितिको बिहीबारको बैठकले वाइडबडी प्रकरण, सेक्युरिटी प्रेस खरिद र त्यससँग जोडिएको अडियो टेप प्रकरणको अनुसन्धान प्रगति विवरण मगाउने निर्णय लिएको छ । यी दुवै विषयमा समितिले अनुसन्धानका लागि अख्तियारलाई फाइल पठाएको थियो ।
‘आजको बैठकमा अख्तियारको कामकारबाहीबारे प्रश्न उठ्यो, हामीले नै उठाएको र पठाएको फाइलमाथि समेत अनुसन्धान कहाँ पुग्यो भन्ने अत्तोपत्तो भएन भन्ने सवाल उठेपछि विवरण मगाउने निर्णय गरेका हौं,’ समितिका सभापति भरतकुमार शाहले कान्तिपुरसित भने, ‘हामीले नै अध्ययन/छानबिन गरेर प्रतिवेदन पठाएका हुन्छौं, न मुद्दा चलाउनु छ, न मुद्दा चल्ने विषय होइन भनेर तामेलीमा राख्नु छ । के गरेको हो भनेर सोध्ने निर्णय भएको छ ।’
शुक्रबार नै अख्तियारमा पत्राचार गर्ने तयारी भएको समितिका सचिव एवं संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । वाइडबडी विमान खरिद प्रकरणमा लेखा समितिले अनियमितताको अंक नै किटान गरेर अख्तियारलाई प्रतिवेदनसहितको फाइल पठाएको हो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भने लेखा समितिले गरिरहेको छानबिन अलपत्र छ । त्यसमा अख्तियारले पनि सँगसँगै छानबिन थालेको हो
लेखा समितिले २०७५ पुस तेस्रो साता वाइडबडी विमान खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकाल्दै थप छानबिन र मुद्दा चलाउन अख्तियारलाई निर्देशन दिने निर्णय गरेको थियो ।
सदस्य राजन केसीको संयोजकत्वमा गठित उपसमितिले गलत लागत तयार पारेको, मूल्य समायोजनमा अनियमितता गरेको, अनावश्यक भ्रमणले नोक्सानी पारेको र तौल क्षमता घटाएकाले विमान खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको थियो ।
 

Your Views
Related News