काठमाडौं : अघिल्लो बर्ष भदौ महिनादेखिनै यातायात व्यवसायी प्रकाश दाहाल निक्कै व्यस्त हुन्थ्यो । उनको कम्पनीमा रहेका २० वटा गाडीसँगै उनले स्थानीय गाडीहरुको समेत व्यवस्थापन गरेर काठमाडौंबाट दैनिक रुपमा तराइका विभिन्न जिल्लाहरुमा सवारी साधनको व्यवस्थापन गरिन्थो। अरु समयमा भन्दा दसैमा अत्यधिक माग रहेकोले दसैमा उहाँको परिवाका अरु सदस्यसमेत टिकट काट्ने काममा सहयोग गर्थे ।
काठमाडौं, भक्तपुरमा समेत उहाँहरुको टिकट काउन्टर थियो । बनेपामा रहेको टिकट काउन्टरमा समेत निक्कै भीडभाड हुन्थ्यो । तर यो बर्ष त्यस्तो छैन । उहाँहरुको काठमाडौ, भक्तपुर र बनेपामा रहेको टिकट काउन्टरबाट एउटा पनि टिकट काटिएको छैन । अघिल्लो बर्षसम्म अग्रिम टिकटको लागि भिडभाड हुने काउन्टरहरु खाली छन् । उहाँले आफ्नो लामो दुरीमा चल्ने २० वटा गाडी पार्किङमा राख्नुभएको महिनौ भैसक्यो । लकडाउन खुलेपछि गाडीहरु संचालन हुने आशामा रहनुभएका उहाँले एउटा बस पनि संचालन गर्न सक्नु भएको छैन । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आफूहरुले यो दसैको लागि अग्रिम टिकटको बारेमा अहिलेनै नसोचेको बताउनुभएको छ । ‘बसहरु खालि दौडन बाँध्य छन् यो बर्ष अग्रिम टिकट काट्नैपर्दैन होला’ कर्माचार्यले भन्नुभयो ।
‘ अहिले काठमाडौं उपत्यका छाडेर जाने बसहरुमा यात्रुहरु नभएकाले अहिलेनै अग्रिम टिकटको बारेमा महासंघले निर्णय गरेको छैन’अध्यक्ष कर्माचार्यले भन्नुभयो । ‘उपत्यका बाहिर जाने अधिकाशं गाडीहरुमा यात्रुनै छैनन्’ कर्माचार्यले भन्नुभयो । अधिकाशं गाडीहरुले तेल समेत हाल्न सक्ने अवस्था छैन भनेर जानकारी गराउनुभएको छ । उहाँले एक सातासम्म कस्तो अवस्था रहन्छ हेरेपछि मात्रै अग्रिम टिकटको बारेमा निर्णय गर्ने बताउनुभयो । अहिले काठमाडौमा रहेका मान्छे जिल्ला जिल्लामा रहेकाले अघिल्लो बर्षहरुमा जस्तो अग्रिम टिकट काट्नुपर्ने अवस्था आइ नहाल्न पनि सक्छ उहाँले भन्नुभयो । अघिल्लो बर्षहरुमा काठमाडौ छाडेर २० लाखभन्दा धेरै मान्छे बाहिर जाने गरेकोमा यो बर्ष राजधानीमा मान्छेनै नभएकाले अग्रिम टिकटको संम्भावना निक्कै न्यून रहेको उहाँले बताउनुभयो ।
उहाँले यो बर्ष दसै तिहार पनि सावधानी अपनाएर मनाउने भएकाले दसै तिहारको अग्रिम बुकिङ टिकट काट्नु नपर्ने उहाँ बताउनुहुन्छ । अहिले १० जना यात्रु बोकेर कंचनपुरसम्म जानुपर्ने बाँध्यता व्यवसायीसँग भएको कर्माचार्य भन्नुहुन्छ । काठमाडौबाट बाहिर जाने मात्रै हैनन काठमाडौ भित्रने गाडीमा समेत यात्रु छैनन् । राजधानीसँग जोडिएका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङसम्म चल्ने छोटो रुटमा समेत यात्रुहरु नभएको व्यवसायी बताउनुहुन्छ । अरनिको यातायात सेवा प्रालीका अध्यक्ष चित्र कुँवरले छोटा तथा लामो दुरीका रुटमा असाँध्यै कम यात्रु भएको बताउनुभयो । सरकारले तोकेको भन्दा पनि कम भाडा दरमा यात्रुहरु बोक्दा समेत यात्रुहरु नआएको उहाँले गुनासो गर्नुभयो ।
नेपालमा करिब तीन लाख ५० हजार सार्वजनिक यातायातहरु संचालनमा छन् । त्योमध्ये एक लाखभन्दा धेरै लामो दुरीका सवारी साधनहरु संचालनमा रहेको महासंघका उपमहासचिव रवि रिमाल बताउनुहुन्छ । एक लाखभन्दा धेरै लामो रुटका सवारी साधनमध्ये अधिकाशं संचालनमा आउन नसकेकको उहाँले बताउनुभयो । सरकारले ५० प्रतिशत भाडा बृद्धि गरेर जनता मारमा परेको र भोलि यात्रु हुँदा समेत बसहरु संचालन गर्न सक्ने अवस्था नहुने उहाँले बताउनुभयो । अहिले लामो दुरीका सार्वजनिक बसहरुले चालक तथा सहचालकहरुले खानाको व्यवस्था मात्रै गर्न सकेको र तेल समेत व्यवसायीहरुले आफैले हालिदिनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
अघिल्लो दसैमा उपत्यकावाट सार्वजनिक यातायात चढेर १५ देखि २० लाखभन्दा धेरै यात्रुहरु बाहिरिने गरेको र यो बर्ष अग्रिम टिकटको बारेमा महासंघले कुनै निर्णय नगरको उहाँले स्पष्ट पार्नुभयो । यो बर्ष सार्वजनिक यातायातको प्रयोग होला जस्तो लाग्दैन उहाँले भन्नुभयो ।
 

Your Views
Related News