विराटनगर : आकाशे पानीको निकास नहुँदा विराटनगरको दक्षिणी क्षेत्र डुबानमा परेको हो । मंगलबारयता परेको अविरल वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्रका करिब दुई हजार पाँचसय घर परिवार डुबानमा परेका हुन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार भारतले निर्माण गरिदिएको एकिकृत भन्सार जाँच परियोजना (आईसीपी), आईसीपी जोड्ने सडक र कोशी राजमार्गका कारण दक्षिणी क्षेत्र डुबानमा परेको हो।

६ लेन परियोजना अन्तर्गतको (कोशी राजमार्ग) सडकमा पहिलो ९ वटा साइफन थिए, तर अहिले ६ वटा मात्रै छन्,’ उनले भने, ‘साइफन नहुँदा पानीको निकास हुन सकेन ,अर्काेतर्फ आईसीपीको बाँध जस्तै सडकले पनि डुबान गराएको हो ।’

चार दिनयता परेको वर्षाका कारण करिब दुई हजार पाँचसय घरमा पानी पसेको बताउँदै उनले निकासका लागि महानगरपालिकाले पहल गरिरहेको बताउनुभयो ।

‘६ लेन परियोजनाको काम वैज्ञानिक देखिएन, जनताको सहजताका लागि बनाएको सडकले जतालाई नै दुःख दियो,’ उनले भने, ‘आजै छलफल गरेर परियोजनालाई साइफन थप गर्न आग्रह गरेका छौं, दुईवटा साइफन थप गर्ने प्रक्रिया अगाडि बढाउने आश्वासन आएको छ ।’

भारतले निर्माण गरिदिएको ड्याम जस्तै सडकको विषयमा आवाज उठाउँदा पनि सम्बोधन नभएको उनको गुनासो छ ।

‘डुबानको मुख्य कारण आईसीपीको संरचना पनि हो,’ उनले भने, ‘आईसीपीको संरचना र आईसीपी जोड्ने सडक पनि व्यावहारिक छैन।’

सडक र आईसीपी परियोजना महानगर मातहत नपर्ने बताउँदै उनले केन्द्र सरकारलाई आग्रह गर्दा सरकारले समस्या सामधान गर्न चासो नदिएको बताउनुभयो।

आईसीपीसँगै भारत सरकारले रेल्वे परियोजना पनि निर्माण गरिदिरहेको छ ।

ड्याम उठाएर बनाइएको रेल्वे परियोजनाले पानी निकास रोकेको हो । रेल्वेमा निर्माण गरिएका निकास नाला जमिनको सतह भन्दामाथि हुन् ।

 

Your Views
Related News