हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकले यो वर्ष चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाएका हुन्।
उनीहरू ब्रिटिश वैज्ञानिक माइकल हाउटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइस छन्।
नोबेल पुरस्कार समितिले उक्त आविष्कारले लाखौँ मानिसको ज्यान जोगाउन सघाएको बताएको हो।
उक्त भाइरसले कलेजोको क्यान्सर गराउँछ र यो नै कलेजो प्रत्यारोपण गर्नुपर्ने एउटा प्रमुख कारण छ।
सन् १९६० को दशकमा दाताबाट प्राप्त रगत लिएका बिरामीलाई कलेजोको अज्ञात दीर्घरोग देखिन थाल्यो।
नोबेल समितिले त्यो बेला रक्ताधान (अर्काको रगत लिने काम) “रुसी रूलेट” अर्थात् जुवाजस्तै भएको टिप्पणी गरेको हो।
अत्यन्त संवेदनशील रक्तपरीक्षणले अहिले संसारका धेरै ठाउँमा त्यस्तो समस्या उन्मूलन भइसकेको छ। उक्त भाइरसविरुद्ध प्रभावकारी औषधि पनि बनिसकेको हो।
“इतिहासमा पहिलो पटक उक्त रोग निको पार्न सकिन्छ। त्यसबाट हेपाटाइटिस सी भाइरस उन्मूलन गर्ने आशा बढेको छ,” समितिले भनेको हो।
तर अहिले पनि सात करोड मानिस उक्त भाइरसबाट सङ्क्रमित छन् र त्यसले प्रत्येक वर्ष चार लाख मानिसको ज्यान लिन्छ।
 

Your Views
Related News