काठमाण्डू : नेपालमा गत २४ घण्टामा २,०७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो।
अहिले फेला परेका सङ्क्रमितमध्ये १,४१६ जना काठमाण्डू उपत्यकाका छन्। योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख सात हजार ७५५ पुगेको हो। चौबीस घण्टाको अवधिमा आइतवार अपराह्णसम्म थप २२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख हो।
नेपालमा अहिलेसम्म ६३६ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १,५५२ जना रोगमुक्त भएका हुन्।
गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको हो।
गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका हुन्।
शनिवार हालसम्मकै सर्वाधिक ५,००८ जनामा सङ्क्रमण पुष्टि भएको थियो। गत शुक्रवार २,०५९ सङ्क्रमित फेला परेका थिए।
गत बिहीवार मन्त्रालयले ४,३६४ सङ्क्रमित फेला परेको र १२ जनाको मृत्यु भएको बताएको थियो।
नेपाल अतिप्रभावित देशमध्ये शीर्ष ५० भित्र परेको जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ।
कुल सङ्ख्यामा नेपालले चीनलाई यसअघि नै उछिनिसकेको हो।
कति छन् सक्रिय सङ्क्रमित? अहिले देशभरि ३१,३१५ नामा सक्रिय सङ्क्रमण हो। तीमध्ये १७,६६६ जना घरमा र बाँकी १३,६४९ जना संस्थागत आइसोलेशनमा भएको प्रवक्ता डा. गौतमले बताउनुभयो।
वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका छन्।
 

Your Views
Related News