काठमाण्डू :  नेपालमा विगत २४ घण्टामा ४,०४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको हो। अहिले फेला परेका सङ्क्रमितमध्ये २,२८३ जनाभन्दा बढी काठमाण्डू उपत्यकाका छन्।
योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ११ हजार नाघेको हो। चौबीस घण्टामा अवधिमा सोमवार अपराह्णसम्म थप नौ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख हो। सो अवधिमा १,४७३ सङ्क्रमित रोगमुक्त भएको मन्त्रालयले बताएको हो।
नेपालमा अहिलेसम्म ६४५ सङ्क्रमितको मृत्यु भएको देखिन्छ। आइतवार २४ घण्टाको अवधिमा २२ जनाको मृत्यु र २,०७१ जना सङ्क्रमित भएको पुष्टि भएको थियो।
अहिले देशभरि ३३,८८० जनामा सक्रिय सङ्क्रमण छन्। तीमध्ये १४,५३० जना घरमा र बाँकी अरू संस्थागत आइसोलेशनमा भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो।
वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी हो। तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका छन्।
गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको हो।
गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका हुन्। शनिवार मन्त्रालयले ५,००८ जना सङ्क्रमित फेला परेको बताएको थियो।
विगत २४ घण्टामा १४,५३० वटा नमुनाको परीक्षण भएको जानकारी मन्त्रालयले दिएको हो।अहिलेसम्म नेपालमा ७७,२७७ जना सङ्क्रमित निको भइसकेका हुन्।
यो सङ्क्रमितको कुल सङ्ख्याको ६९ प्रतिशत छ।
 

Your Views
Related News