नेपालमा विगत २४ घण्टामा ३,५५६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

अहिले फेला परेका सङ्क्रमितमध्ये २,१२९ नाभन्दा बढी काठमाण्डू उपत्यकाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख १५ हजार नाघेको छ।

चौबीस घण्टाको अवधिमा मङ्गलवार अपराह्णसम्म थप १८ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बताएको छ।

सो अवधिमा १,५०३ सङ्क्रमित रोगमुक्त भएको मन्त्रालयले बताएको छ।

नेपालमा अहिलेसम्म ६६३ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

 

सोमवार मन्त्रालयले चार हजार सङ्क्रमित फेला परेको पुष्टि गरेको थियो।

विगत २४ घण्टामा १५,५७७ वटा नमुनाको परीक्षण भएको जानकारी मन्त्रालय‍ले दिएको छ।

अहिलेसम्म नेपालमा ७८,७८० जना सङ्क्रमित निको भइसकेका छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ६८.३ प्रतिशत हो।

अहिले देशभरि ३५,९१५ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये २०,८६७ जना घरमा र बाँकी १५,०४८ जना संस्थागत आइसोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।

गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघ्यो।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्। शनिवार मन्त्रालयले ५,००८ जना सङ्क्रमित फेला परेको बताएको थियो।

 

Your Views
Related News