नेपालमा विगत २४ घण्टामा २,६३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको हो।

मन्त्रालयका अनुसार १३,९४७ वटा नमुनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका छन्।

अहिले फेला परेका सङ्क्रमितमध्ये १,४०३ जना काठमाण्डू उपत्यकाका छन्।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख १७ हजार नौ सय ९६ पुगेको हो।

चौबीस घण्टाको अवधिमा बुधवार अपराह्णसम्म थप १२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बताएको हो।

नेपालमा अहिलेसम्म ६७५ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

मन्त्रालयका अनुसार सो अवधिमा २,१७४ सङ्क्रमित रोगमुक्त भएका हुन्।

सोमवार मन्त्रालयले चार हजार सङ्क्रमित फेला परेको पुष्टि गरेको थियो।

अहिलेसम्म नेपालमा ८०,९५४ जना सङ्क्रमित निको भइसकेका छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ६८.६ प्रतिशत छ।

कहाँ छन् सक्रिय सङ्क्रमित?

अहिले देशभरि ३६,३६७ जनामा सक्रिय सङ्क्रमण छन।

तीमध्ये १४,८१९ जना संस्थागत आइसोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी १३,५७१ जना हो।

गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघ्यो।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका हुन्।

शनिवार मन्त्रालयले ५,००८ जना सङ्क्रमित फेला परेको बताएको थियो। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि छ।

 

Your Views
Related News