बर्दिया : सशस्त्र प्रहरी बल, ३१ नम्बर गण बर्दियाले साढे २३ किलो अफिम र ५ किलो चरेससहित एक महिलालाई पक्राउ गरेको हो । गुलरिया नगरपालिका—१ गाउँ नम्बर १० हुँदै भारत जान लागेको अवस्थामा मंगलबार राति पक्राउ परेको हो ।
रुकुम बाफिकोट गाउँपालिका—डुले बस्ने ३८ वर्षीया निर्मला बाठामगरबाट उक्त लागूपदार्थ पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले बताए । उनीसँग रहेका दुई पुरुष र एक महिला फरार भएको उनले जनाए ।
पक्राउ गरिएकी बाठामगरलाई आवश्यक कारबाहीका लागि बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको हो । उनीबाट गुलरिया—१ घर भएका ४० वर्षीय लालबहादुर विक र पाल्पा बकमालांगुका दानबहादुर मल्ल ठकुरीको नेपाली नागरिकता फेला परेको हो ।
यसैबीच बीओपी फुटाहाले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको हो । मंगलबार साँझ बढैयाताल गाउँपालिका—२ फुटाहामा भारतबाट आउँदै गरेको अवस्थामा नाईट्रोभेट— १० नाम गरेको चक्की १६ वटा र माक्स बोण्ड सोलुसन ५ वटासहित दुई जना पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक राउतका अनुसार पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका—२ डाँफेका दुई जना किशोर रहेको बताउनुभयो। उनीहरुलाई पक्राउ गर िआवश्यक कारबाहीका लागि प्रहरी चौकी जमुनी पठाइएको हो।
 

Your Views
Related News