पन्ध्र वर्षदेखि काठमाण्डू बस्दै आएका निमा राना (नाम परिवर्तन) लाई असोज ५ गते स्वास्थ्यमा समस्या देखियो।

उनले सामान्य भाइरल खोकीका रूपमा लिए र घरमै बसे तर खोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या एवम् छाती, टाउको र शरीर दुख्ने समस्या कम नभएपछि उनले असोज ९ गते पीसीआर परीक्षण गरे।

काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट पीसीआर परीक्षणको रिपोर्ट भोलिपल्ट आयो। उनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भयो।

असोज ११ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका उनलााई असोज १९ गते भाइरसमुक्त प्रमाणित गरियो। उनी घर फर्किए।

तर उनको त्यो उत्साह धेरै दिन कायम रहेन।

“केही सहज त भएको छ तर अहिले पनि थकान, सास फेर्ने गाह्रो हुने, सुक्खा खोकी र छाती दुख्ने जस्ता समस्या कायमै छ,” बीबीसीसँगको कुराकानीका क्रममा ४६ वर्षीय रानाले भने। “सुधार अत्यन्तै कम छ।”

पीसीआर परीक्षणका लागि लामबद्ध सर्वसाधारण

कोरोनाभाइरस सङ्क्रमणबाट निको भएर घर फर्किसकेका बिरामीमा देखिने यस्ता किसिमका दीर्घ समस्यालाई ‘लङ कोभिड’ भनिने गरेको चिकित्सकहरू बताउँछन्।

सबै ठिक भए जस्तो अनुभूति भइरहेका बेला यस्तो किसिमको समस्या एकाएक आउने उनी बताउँछन्।

चिकित्सकहरूले उनलाई छिटोमा दुईदेखि तीन हप्ता र ढिलामा तीन महिनासम्ममा निको हुने बताएका छन्।

तर यकिनका साथ त्यस्तो भन्न सक्ने अवस्था नरहेको विवरण सार्वजनिक भइरहेका छन्।

 

समस्या कम नभएपछि पछिल्लो पटक मङ्गलवार उनले अस्पताल पुगेर छाती र रगत परीक्षण गराएका छन्।

रिपोर्टका आधारमा सबै कुरा ठिकै रहेको चिकित्सकहरूले उनलाई बताएका छन्। तर उनी बिहानबिहान आफूलाई अप्ठ्यारो हुने बताउँछन्।

बिहान आफैँ उठ्न नसक्नेदेखि अत्यन्तै थकित महसुस हुने, छाती भारी हुने र कहिलेकाहीँ सुक्खा खोकीको समस्या उनमा छ। हिँड्दा सास गढ्ने समस्या पनि छ।

काठमाण्डू उपत्यकामा तीव्र गतिमा कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको छ

चिकित्सकहरूले उनलाई हालसम्म स्पष्टसँग भन्न सकेको कुरा ‘यो कोभिडकै कारण उत्पन्न स्वास्थ्य अवस्था हो’ मात्रै हो।

उनलाई नियमित रूपमा भिटामिन अनि सन्तुलित आहार खान र नियमित रूपमा व्यायाम गर्न भनिएको छ।

आत्मबल नै सहारा

कोभिड-१९ बाट निको भएर फेरि त्यसकै कारण सुरु भएको अन्य समस्यासँग जुझिरहेका रानाको भोगाइबाट उनले बुझेको कुरा भनेको आत्मबलको आवश्यकता नै हो।

चिकित्सकहरूका अनुसार उनमा देखिएको समस्याको स्तर मध्यम छ।

“कहिलेकाहीँ के हुने हो कसो हुने हो भन्ने डर लाग्छ। तर सबैभन्दा पहिले आत्मबल बलियो बनाउनुपर्ने रहेछ। आत्मबल कमजोर बनाउँछ यसले,” उनले भने।

शिक्षण पेसामा रहेका राना पछिल्लो समय पर्यटन क्षेत्रमा सक्रिय थिए जसमा कोरोनाभाइरस महामारीको व्यापक प्रभाव परेको छ। कारोबार लगभग ठप्प छ।

 

Your Views
Related News