अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले डेमोक्र्याटिक मतदाताहरूलाई तर्साउनेगरी इमेल पठाउने काममा इरान जिम्मेवार रहेको बताएका छन्।

न्याश्नल इन्टेलिजेन्सका निर्देशक जोन र्‍याटक्लिफले भने: “ती इमेलहरू चरम दक्षिणपन्थी ट्रम्प पक्षधर समूहबाट आएको र मानिसहरूलाई उत्तेजित पारेर अस्थिरता फैलाउने उद्देश्य राखेको देखिन्छ।”

अमेरिकामा राष्ट्रपतीय चुनाव हुन दुई साताभन्दा कम समय बाँकी छंदा न्याश्नल इन्टेलिजेन्सका निर्देशकले यस चुनावमा इरानसहित रुसले समेत हस्तक्षेपको प्रयास गरेको बताएका हुन्।

वासिङ्टनमा बोलेका र्‍याटक्लिफले दुवै देशले गैरकानुनी रूपमा केही मतदाताका विवरण पाएको आरोप लगाए।

उनले इरानले अमेरिकीहरूलाई फर्जी इमेलहरू पठाउँदै अन्योल एवं असहज पार्नुका साथै अमेरिकी प्रजातन्त्रप्रतिको आत्मविश्वास कमजोर पार्न खोजेको आरोप लगाए।

अस्वभाविक ब्रिफिङ

हुलाकबाट पहिल्यै गर्न सकिने मतदानमा अहिलेसम्म ४ करोडभन्दा बढि मत खसिसकेको छ।

चुनावी दिन नजिकिएको बेला अकस्मात् गरिएको त्यस्तो ब्रिफिङमा सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई)का निर्देशक क्रिस्टोफर वारे समेत थिए।

उनले त्यहाँ अमेरिकी चुनाव सुरक्षित रहेको र त्यस्ता कुरा सहन गर्न सक्ने बताए।

जोन र्‍याटक्लिफले रुसबारे इरानकोजस्तै कामको जानकारी आफूसँग नभए पनि उसँग समेत केही मतदाताको विवरण भएकोमा आफू सचेत भएको बताए।

रुस सन् २०१६ को राष्ट्रपतिय निर्वाचनमा हस्तक्षेप गरेको भन्दै व्यापक रूपमा आलोचित हुने गरेको छ।

ओबामाको पहिलो चुनावी मन्तव्य

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले डेमोक्र्याटिक उमेद्दवार जो बाइडनको पक्षमा पहिलोपटक चुनावी मन्तव्य दिंदै ट्रम्पमाथि दिनदिनै झुटो बोलेको आरोप लगाए।

जसक्रममा उनले बाइडन र कमला ह्यारिस पदमा हुँदा उनीहरूबाट दैनिक अचम्मलाग्दा भयङ्कर कुरा सुन्नु नपर्ने बताए।

फिलेडेफियामा बोलेका ओबामाले ‘ट्रम्पले राष्ट्रपतिय भूमिकालाई रियालिटी सोजस्तो बनाएको र आफूबाहेक कसैको मतलब नगरेको’ बताए।

उनको भनाइ थियो: “यो रियालिटी सो होइन, यो वास्तविकता हो। र उनले आफ्नो भूमिका राम्ररी निर्वाह नगर्दाको मूल्य बाँकी हामीले चुकाउनु पर्छ।”

ओबामाले आफ्ना कार्यकालका उपराष्ट्रपति बाइडनले अमेरिकाको अन्तर्राष्ट्रिय स्थानलाई पुन: बलियो बनाउने र हरेक अमेरिकीको लागि काम गर्ने बताए।

एउटा कार र्‍यालीलाई सम्बोधन गरेका उनले ‘हाम्रो जीवनकालकै सबैभन्दा महत्त्वपूर्ण चुनावमा भोट हाल्न १३ दिन बाँकी रहेको’ बताए।

उनले मन्तव्य दिइरहंदा यसपटक ताली नभइ कारका हर्नमार्फत् मानिसहरूले समर्थन जनाइरहेका थिए।

चुनावी अभियान

यतिखेर बाइडन भने चुनावी अभियानबाट पर सरेर ट्रम्पसँग हुने अन्तिम राष्ट्रपतीय बहसको तयारी गरिराखेका छन्।

उता नर्थ क्यारोलाइनामा समर्थकहरूमाझ बोलेका ट्रम्पले मानिसहरूलाई ‘ट्रम्पको समृद्धि र बाइडनको लकडाउनबिच मतदाताले आफूहरूलाई रोज्नुपर्ने’ बताए।

उनले त्यहाँ अफ्गानिस्थानबाट अमेरिकी फौजलाई स्वदेश फर्काउने बाचालाई समेत दोहोर्‍याए।

ट्रम्पले त्यहाँ भने: “पछिल्लो ओबामाले हिलरी क्लिन्टनका लागि निकै मिहिनेत गरेर चुनाव प्रचार गरे पनि नतिजा उनको पराजय थियो।”

 

Your Views
Related News