काठमाडौं : यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिकरूपमा मात्र आयोजना गरिने भएको हो । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको हो।

कोभिड–१९ को संक्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो ।

उनले भने, ‘स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा सांकेतिकरूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरेका छौं । अघिल्ला वर्षका बढाइँमा पूर्व, पश्चिम र दक्षिणपाटाबाट ८४÷८४ जनाको गुल्मले बढाइँ गर्थ्यो भने यस पटक सामाजिक दूरी कायम गरी २५÷२५ जनामा सीमित गरिएको हो ।’

बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुने परम्परा हो ।

विगतको जस्तो धेरै कार्यक्रम नगरी छोटो बढाइँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको हो ।

विगतमा सेनाबाहेक एक हजार २०० को संख्यामा विभिन्न क्षेत्रका महानुभावलाई आमन्त्रण गर्ने गरिएकामा यस पटक सेनासहित पाहुनाको संख्या १०० जनामा सीमित तुल्याइने हो ।

अघिल्ला वर्षमा सेनानीसम्मलाई सपरिवार बढाइँ कार्यक्रममा सहभागिताका लागि उर्दी हुने गरेकामा स्वास्थ्य मापदण्डका कारण यस वर्ष सहायकरथी दर्जासम्मलाई एक्लै आउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता पौडेलले बताए । उपस्थित हुने स्थानमा पञ्जा र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको हो ।

 

Your Views
Related News