नेकपा : पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग के कुरा गरे


नेकपाभित्र देखिने गरेका विवाद दुई अध्यक्षबीचको असमझदारीमा उत्पन्न हुने र उनीहरूबीचको सहमतिसँगै साम्य हुने गरेको देखिन्छ

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको प्रधानमन्त्री निवासमा छलफल भएको छ।

पछिल्ला दिनमा प्रधानमन्त्रीका निर्णयहरूका कारण प्रचण्ड असन्तुष्ट रहेको खबरहरूबीच दुई अध्यक्षबीच कुराकानी भएको थिएन।

लामो संवादहीनताका बीच प्रधानमन्त्री निकट चिनिएका नेताहरूले पछिल्ला दिनहरूमा प्रचण्डसँग भेटघाट र छलफल तीव्र पारेका थिए।

निर्णायक तयारी नै हो प्रचण्डको?

कतिपय सञ्चारमाध्यमहरूले त प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा प्रचण्ड र माधव नेपाल पक्षधर नेताहरू रहेको समेत समाचार प्रकाशित गरेका थिए।

के त्यसो भए पछिल्लो भेटघाट निर्णायक चरणमा प्रवेश गर्नुअघिको तयारी हो त?

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा भन्छन्, “पार्टीभित्र भएका निर्णयहरू कार्यान्वयन गर्नुपर्‍यो, पछिल्ला समस्याहरू जो देखिए त्यसबारे पार्टी कमिटीमा छलफल गरेर अघि बढ्नुपर्छ भन्ने कुरा प्रचण्डले अर्का अध्यक्षसमक्ष राख्नुभयो।”

अविश्वास प्रस्तावको चर्चामा सत्यता नरहेको उनको भनाइ छ।नेकपामा लामो समयदेखि विभिन्न विषयलाई लिएर विवाद देखा पर्दै आएको छ

उनले भने, “त्यो नितान्त भ्रम सिर्जना गर्ने एक खालको प्रचारबाजी मात्र हो, बिल्कुल त्यस्तो होइन।”

के हुन् छलफलका विषय?

उनका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव, पर्सामा भएको नेकपाका कार्यकर्ताको हत्या, भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखको नेपाल भ्रमण र कोरोनाभाइरसको महामारीमा सरकारको भूमिकाबारे मुख्य रूपमा छलफल भएको हो।

पार्टी प्रवक्ताले ती विषयमा बैठक बसेर हल खोज्नुपर्ने लिखित माग दुवै अध्यक्षसँग राखेको र त्यसलाई पनि दृष्टिगत गर्दै सचिवालय बैठकबाट निर्णय लिनुपर्ने कुरा प्रचण्डले ओलीसमक्ष राखेको उनले जानकारी दिए।

कर्णाली प्रदेशमा देखिएको विवादका क्रममा त दुवै अध्यक्षले लिखित रूपमा फरक-फरक निर्देशन दिएका थिए।

यसअघि कार्तिक ४ गते मङ्गलवार प्रधानमन्त्री र प्रचण्डबीच छलफल भएको थियो।

त्यस भेटलाई लिएर दुवैको सचिवालयको तर्फबाट फरक-फरक खालको प्रेस नोट जारी भएपछि विवाद छताछुल्ल भएको थियो।

कर्णालीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव र त्यसपछि प्रमुख सचेतक हटाउने मुख्यमन्त्रीको निर्णय फिर्ता लिने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जनाएका थिए।

लगत्तै प्रचण्डका प्रेस संयोजक सापकोटाले ती सबै विषयमा सहमति खोज्ने जिम्मा प्रदेश सरकार र पार्टी कमिटीलाई दिने सहमति भएको भन्दै प्रेस नोट जारी गरेका थिए।

पछिल्लो विवाद के हो?

त्यससँगै देखा परेको संवादहीनतामाझ प्रधानमन्त्री ओली र भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखबीच भएको भेटवार्ताले नेकपा थप तरङ्गित हुन पुगेको थियो।

पार्टीभित्रै कतिपय उच्च नेताहरूले समेत सार्वजनिक रूपमा त्यस विषयलाई लिएर प्रधानमन्त्रीको आलोचना गरेका थिए।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले त प्रधानमन्त्रीले त्यसबारे पार्टीलाई जानकारी नदिएको र त्यो पार्टी बैठकमा छलफलको विषय बन्ने समेत बताएका छन्।

तर सापकोटा भन्छन्, “बैठकको मितिबारे अझै कुनै टुङ्गो लागेको छैन।”

तर प्रधानमन्त्रीको सचिवालयले प्रचण्ड र ओलीको बैठकको विषयमा अझै केही भनिसकेको छैन।

 

Your Views
Related News
POPULAR
Recently
           

About Us

Powered by " Jalpa Khabar Media Pvt. Ltd. "

Suryegadhi Gaupalika Ward No : 4 Nuwakot Nepal

Reg No : ***/076/077

Director

Shibharam Bhattarai ( Sangam ) : 9841188138

Editor

Sumit Bhattarai : 9869802325