बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पहिलोपटक चक्लाबन्दी अनुसार आलुको सामूहिक खेती शुरु गरिएको छ । आयात प्रतिस्थापन र बीउसमेत उत्पादनका लागि किसानलाई व्यवसायिक आलु खेती तर्फ अग्रसर गराउँदै ६० बिघा जग्गामा आलु खेती शुरु गरिएको हो ।

तिलोत्तमा नगरपालिकाको १ करोड १५ लाख, अन्तर्राष्ट्रिय दातृ निकाय युएनडिपीको ९४ लाख र किसानको ५२ लाख रुपैयाँ लागतमा सञ्चालन गरिएको आलुको बिजवृद्धि परियोजनामार्फत् किसानलाई ७५ प्रतिशत अनुदानमा बिउ, मल र कृषि उपकरण उपलब्ध गराइएको छ ।

निर्वाहमुखी खेतीप्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न युएनडिपीको सहयोगमा सहकारीमार्फत बिजवृद्धि परियोजना सञ्चालन गरिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

किसानलाई आलुखेतीको बारेमा आवश्यक ज्ञान, सीप प्रदान गर्न कृषि प्राविधिक तथा विज्ञ गरी चारजना र ‘ग्रीन भोलिन्टियर’ (स्वयंसेवक) ६ जना खटाइएको छ । सामूहिक आलु खेतीको नेतृत्व र व्यवस्थापन स्थानीय प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले गरेको हो ।

परियोजनाले समूहलाई ड्याङ्ग बनाउने, उकेरा लगाउने, फसल खन्ने लगायतका काममा प्रयोग हुने १७ लाख मूल्य बराबरका ११ वटा पावर टे«लर मेसिन उपलब्ध गराएको हो ।

व्यवसायिक खेती गर्ने किसानलाई सरकारी अनुदानमा प्राथमिकतामा राखिएको नगरप्रमुख घिमिरेले बताए । ‘घरपरिवारलाई खान पुग्ने मात्र खेती गर्ने किसानले यो वर्ष परियोजनाअन्तर्गत् सात बिघासम्मको एउटै प्लटमा आलु खेती गरेका छन्,’ नगर प्रमुख घिमिरेले भने, ‘चक्लाबन्दी र मार्ने र नगरलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने हो ।’

चक्लाबन्दी आलु खेतीमा विभिन्न वडाका २० वटा समूह आवद्ध भएका र  करिब ९ सय मेट्रिक टन बीउ र ६ सय मेट्रिक टन खाने आलु उत्पादन गर्ने लक्ष्य रहेको   सहकारी संस्थाकी अध्यक्ष सीता न्यौपानेले बताइन् । ‘अर्को वर्ष नगरभरका किसानलाई माग अनुसार आलुको बिउ उपलब्ध गराउने लक्ष्य छ,’ अध्यक्ष न्यौपानेले भनिन्, ‘हरेक वर्ष आलु लगाउने बेलामा गतिलो बिउ नपाएर किसान भौंतारिनुपर्ने समस्या अन्त्य हुने  विश्वास हो ।’

यो वर्ष बिजवृद्धिको लागि अधिकांश क्षेत्रमा पहिलो र दोस्रो पुस्ताको आलु खेती गरिएको र यो वर्ष उत्पादित आलुलाई अर्को वर्ष बीउको रुपमा बिक्री गर्नेगरी कोल्डस्टोरमा राख्नेसम्मको योजना रहेको सहकारीकी व्यवस्थापक जमुना गिरीले  बताइन् ।

यस क्षेत्रमा गुणस्तरीय बीउ उपलब्ध नभइरहेको अवस्थामा परियोजनाअन्तर्गत् उत्पादित बीउले आगामी वर्षहरुमा आलुको उत्पादन वृद्धिमा ठूलो टेवा पु¥याउने नगरपालिकाको अपेक्षा छ । निर्वाहमुखी आलु खेती गरेका किसानले मूल्य चुकाउँदा समेत गुणस्तरीय बीउ नपाउँदा लागतअनुसारको उत्पादन लिन सकेका छैनन् ।

 

Your Views
Related News