विगत २४ घण्टामा नेपालभरि थप ३,३०९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र ३० जनाको मृत्यु भएको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार अपराह्ण जनाएको छ।

सो अवधिमा १३,१४४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

सङ्क्रमितमध्ये १,३०४ महिला र २,००५ पुरुष छन्।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित फेला पर्ने क्रम जारी छ।

यो सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,८२,००० नाघेको छ भने तीमध्ये झन्डै १,४५,००० जना सङ्क्रमणमुक्त भएका छन्।

अहिलेसम्म नेपालमा १,०३४ सङ्क्रमितको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा ३,८४४ जना निको भएको मन्त्रालयले जनाएको छ।

मङ्गलवार कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १,००० नाघेको थियो।

कहाँ छन् धेरै सङ्क्रमित?

काठमाण्डू उपत्यकामा २४ घण्टाको अवधिमा १,८७८ सङ्क्रमित थपिएका हुन्।

तीमध्ये काठमाण्डू जिल्लाका सर्वाधिक १,५७० जना छन् भने ललितपुरका १८९ जना र भक्तपुर ११९ जना छन्।

त्यसैगरी मोरङमा १७२, सुनसरीमा १३०, कास्कीमा १९८ र रूपन्देहीमा ११० सङ्क्रमित थपिएका छन्।

अहिले काठमाण्डूमा १६,४२० जनासहित उपत्यकामा १८,८०८ सक्रिय सङ्क्रमित छन्। यो कुल सक्रिय सङ्क्रमितको आधाभन्दा केही बढी हो।

उपत्यकामा १४,९०६ सङ्क्रमितहरू घरमै एकान्तवासमा छन्।

 

Your Views
Related News