सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र विवाद चर्किएका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयको ‘अनौपचारिक बैठक’ आयोजना गरेर ‘कार्यकारी कदम’ अघि बढाएको देखिएको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय कार्यालयबाट कार्यकारी अध्यक्ष प्रचण्डले अनौपचारिक बैठक बोलाएको खबर गरिएको जानकारी दिए।

प्रचण्डले प्रधामन्त्री केपी शर्मा ओलीसँग बिहीवार छलफल गरेका थिए।

उक्त छलफलमा पनि बैठकबाट विवादको छिनोफानो गर्न प्रचण्डले प्रस्ताव राखेको तर ओली तयार नभएको खबरहरू आएका छन्।

 

ओलीको सहमति कि असहमति?

अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसँगको छलफलबारे प्रचण्डले पूर्वमाओवादीका केही नेताहरूलाई जानकारी गराएका थिए।

छलफलमा सहभागी नेता दीनानाथ शर्माका अनुसार प्रचण्डले ‘पार्टीभित्रको मतभेद बैशाख महिनाको’ अवस्थामा पुगेको अवगत गराएका थिए।

पछिल्लोपटक विवाद देखा परेपछि गठन गरिएको कार्यदलको प्रतिवेदनका आधारमा अघि बढ्ने सहमति भएको थियो।

उक्त प्रतिवेदन र स्थायी समितिको निर्णय कार्यान्वयन गर्ने बारेमा बैठक बस्न आफूले आग्रह गर्दा प्रधानमन्त्रीले नमानेको कुरा प्रचण्डले सुनाएको शर्मा बताए।

त्यसपछि ‘त्यसोभए म औपचारिक बैठक बोलाउँछु के भन्नुहुन्छ भनेर प्रचण्डले राय मागेको’ उनको भनाइ छ।

प्रचण्डको भनाइ उद्धृत गर्दै शर्मा भन्छन्, “प्रधानमन्त्रीले औपचारिक बैठक नबोलाउनूस्, छलफल-सरसल्लाह गर्नुछ भने अनौपचारिक रूपमा गर्नूस् भन्नुभयो।”

प्रधानमन्त्रीको पक्षबाट त्यस बैठकबारे कुनै औपचारिक प्रतिक्रिया जनाइएको छैन।

कतिपय प्रधानमन्त्री निकटस्थहरूले भने दुईजना अध्यक्षको परामर्शमा महासचिवले बैठक डाक्ने व्यवस्था रहेको बताउँदै सहमतिबिना औपचारिक वा अनौपचारिक बैठक बोलाउने अधिकार कसैलाई नभएको बताएका छन्।

 

थप कदमको पूर्वाभ्यास?

यसअघि पनि विवाद चर्किएका बेला प्रचण्डले पार्टी स्थायी समितिको बैठक बालुवाटारमै डाकेका थिए।

प्रधानमन्त्री सहभागी नभएको तर उक्त बैठकमा उपाध्यक्ष वामदेव गौतमले राखेको ‘मध्यमार्गी’ लिखित प्रस्तावपछि नै विवाद समाधान उन्मुख बनेको थियो।

प्रधानमन्त्रीले बैठक बोलाउन पटकपटक नमानेकाले अब भने औपचारिक रूपमा अघि बढ्ने पक्षमा सचिवालयका बहुमत सदस्य रहेको बताइन्छ।

कतिपयले यसअघि विभिन्न नेताहरूसँग निजी निवासमा छलफल-परामर्श गर्दै आएका प्रचण्डले ‘कार्यकारी अधिकार’ प्रयोग गर्नुअघि पूर्वतयारी स्वरूप अनौपचारिक बैठक पार्टी कार्यालयमा आयोजना गरेको ठानेका छन्।

पार्टी प्रवक्ता श्रेष्ठ भन्छन्, “छलफलपछि निर्णय गर्ने गरी औपचारिक बैठकमा जाने उद्देश्यले अनौपचारिक बैठक डाक्नु भएको होला।”

उक्त अनौपचारिक बैठकको सहमतिबारे प्रचण्डले प्रधानमन्त्रीलाई अवगत गराउने र त्यसप्रति प्रधानमन्त्रीको प्रतिक्रियापछि प्रचण्ड पक्षको आगामी कदम निर्भर हुने ठानिएको छ।

पछिल्ला दिनहरूमा प्रचण्ड पक्षले विभिन्न गुटका बैठक गर्दै सरकार र आफूविरुद्ध षडयन्त्र गरेको आरोप प्रधानमन्त्रीले लगाउने गरेको विवरणहरू लगातार आइरहेका छन्।

प्रचण्ड पक्षले भने ‘पार्टीको निर्णय अवज्ञा गर्नुका साथै बैठक बस्नै नमानेको’ आरोप प्रधानमन्त्रीमाथि लगाउने गरेका विवरण आएका छन्।

 

Your Views
Related News