काठमाडौ : विगत २४ घण्टामा नेपालभरि थप १,९१३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १०,०२२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख चार हजार नाघेको छ।अहिलेसम्म नेपालमा १,११८९ सङ्क्रमितको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले थप २,३४९ जना सङ्क्रमणमुक्त भएका छन्। नेपालमा अहिले पुष्टि भएका ३८,४६१ जना सक्रिय सङ्क्रमित छन्। अहिलेसम्म १,६४,५९२ जना निको भएको सरकारी तथ्याङ्क छ।  नेपालमा सङ्क्रमित निको हुने दर ८०.६ प्रतिशत छ।बुधवार २,५६९ जनामा सङ्क्रमण पुष्टि हुँदा नेपालमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख नाघेको थियो।

को हुन् सङ्क्रमित?

मन्त्रालयका अनुसार अहिले फेला परेका सङ्क्रमितमध्ये ७५९ जना महिला र १,१५४ जना पुरुष छन्। उनीहरू विभिन्न जिल्लाका हुन्।सबै सङ्क्रमितमध्ये ३४ प्रतिशत अर्थात् ६८,७११ महिला र बाँकी १,३५,५३१ जना पुरुष भएको मन्त्रालयले जनाएको छ। तर पर्याप्त परीक्षण नभएकाले सङ्क्रमितको वास्तविक सङ्ख्या बढी हुनसक्ने विज्ञहरूको भनाइ छ। तर काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण र सङ्क्रमित हुने क्रम जारी छ।

विगत २४ घण्टामा काठमाण्डूमा ७६४ सहित उपत्यकामा ९७३ जनामा सङ्क्रमण पुष्टि भयो। अहिले उपत्यकामा २०,८४९ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १४,२३८ जना घरमै एकान्तवासमा भएको तथ्याङ्क मन्त्रालयले दिएको छ।

 

Your Views
Related News