काठमाडौ : विगत २४ घण्टामा नेपालभरि थप २,१११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा कुल ९,५३३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ। यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख छ हजार नाघेको छ।

अहिलेसम्म नेपालमा १,२०२ सङ्क्रमितको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिले थप ३,५३७ जना सङ्क्रमणमुक्त भएका छन्। नेपालमा अहिले पुष्टि भएका ३७,०२२ जना सक्रिय सङ्क्रमित छन्।

अहिलेसम्म १,६८,१२९ जना निको भएको सरकारी तथ्याङ्क छ। सङ्क्रमितहरू निको हुने दर ८१.५ प्रतिशत पुगेको छ।बुधवार २,५६९ जनामा सङ्क्रमण पुष्टि हुँदा नेपालमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख नाघेको थियो। बिहीवार १,९१३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।

 

Your Views
Related News