काठमाडौ : नेपालमा विगत २४ घण्टामा १,६७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा देशभरि ९,८०५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ।केही महिनादेखि जाँचिएका नमुनामा ठूलो दरमा सङ्क्रमण देखिने क्रम जारी छ। यसप्रति जनस्वास्थ्यविद्‌हरूले चिन्ता व्यक्त गरेका छन्।तर पर्याप्त सङ्ख्यामा परीक्षण नभएकाले सङ्क्रमितको सङ्ख्या अझ धेरै हुनसक्ने उनीहरूको भनाइ छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १८ हजार नाघेको छ।अहिले देशभरि २४,००९ जनामा सक्रिय सङ्क्रमण छ।सरकारको तथ्याङ्कअनुसार १,९३,३२५ जना निको भइसकेका भने १,३०५ नाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।काठमाण्डू उपत्यकामा ४९० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा देखिन्छ।

कति जना निको भए?

नेपालमा सङ्क्रमितहरू निको हुने दर ८८.४ प्रतिशत पुगेको छ।मन्त्रालयले शनिवार अपराह्ण प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २,३२३ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ।मन्त्रालयले शुक्रवार १,९४५ जनामा सङ्क्रमण पत्ता लागेको र २२ जनाको मृत्यु भएको बताएको थियो।त्यससँगै काठमाण्डू उपत्यकामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको थियो।गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।

को हुन् सङ्क्रमित?

सङ्क्रमितमध्ये ६६१ जना महिला र १,०१३ जना पुरुष भएको मन्त्रालयले जनाएको छ।तीमध्ये काठमाण्डूमा ६८५ जनासहित उपत्यकामा १,६७४ जना छन्।अहिले उपत्यकाका तीन जिल्लामा भएको सक्रिय सङ्क्रमितको सङ्ख्या १२,९८४ छ।

अरू तथ्याङ्क के छ?

मन्त्रालयका अनुसार अहिले देशभरि १७,२०६ सङ्क्रमित घरमै र बाँकी संस्थागत आइसोलेशनमा छन्।तीमध्ये काठमाण्डू उपत्यकासहित वाग्मती प्रदेशमा ११,६०४ जना घरमा एकान्तवासमा छन्।

उपत्यकामा अहिले देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ५४ प्रतिशत भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३३६ जना सघन उपचार कक्षमा र ४७ जना भेन्टिलेरमा छन्।

 

Your Views
Related News