विराटनगर : १२ दिनअघि संखुवासभाको यात्रा गरी फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) पुन: पूर्वका दुई जिल्ला भ्रमणका लागि आएका छन् ।

२६ कात्तिकमा संखुवासभामा आयोजित तीन कार्यक्रममा सहभागी भएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार पुन: ताप्लेजुङ र इलामको भ्रमणमा निस्किएका हुन् ।ताप्लेजुङ र इलाममा ओलीको विषेश कार्यक्रम भने छैन् । ताप्लेजुङमा एउटा सामुदायिक स्वास्थ्य चौकीको उद्घाटन गर्नेछन् । त्यसपछि स्थानीयसँग भेटघाट गर्नेछन् ।ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार उत्तरी नाका ओलाङचुङगोलाको पनि अवलोकन गर्ने कार्यक्रम छ । ओलाङचुङगोला जानुअघि ताप्लेजुङको घुन्सामा निर्माण गरिएको सामुदायिक स्वास्थ्य चौकीको भवन उद्घाटन गर्ने उनले बताए ।

त्यसपछि भने प्रधानमन्त्री ओली इलाम आउनेछन् । इलामको सन्दकपुर गाउँपालिकाको सीमावर्ती क्षेत्रमा निर्माण भएको बोर्डर आउट पोष्ट(बीओपी)को निरिक्षण गर्नेछन् ।सन्दकपुरको जौबारी भन्ने स्थानमा नयाँ बोर्डर आउट पोष्ट राखिएको छ । सोमबार प्रधानमन्त्री ओली बीओपी निरीक्षणका लागि आउने कार्यक्रम रहेको इलामका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए ।

ताप्लेजुङको कार्यक्रम पछि हेलिकप्टरमा इलाम आउने कार्यक्रम छ, उनले भने, बीओपी निरिक्षण पछि आजै ३ बजे काठमाडौं फर्कने कार्यक्रम छ ।बीओपी निरीक्षणमा पुगेपनि सन्दरपुरमा रहेको श्रीअन्तु डाँडा भने नपुग्ने उनले बताए । श्रीअन्तु डाँडा प्रदेश १ प्रसिद्ध पर्यटकीय क्षेत्र हो । सामाय अवस्थामा दैनिक सयौं आन्तरिक पर्यटक सूर्याेदय हेर्नका लागि पुग्ने गरेका छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई पनि छन् ।

कात्तिक २६ मा प्रधानमन्त्री ओलीले संखुवासभाको किमाथाङकामा निर्माण गरिएको बीओपी, उत्तर दक्षिण सडक र अरुण तेस्रोको ड्याम स्थल निरीक्षण गरेका थिए । दोस्रो पटक मिर्गौलाला प्रत्यारोपण गरेपछि ओली दोस्रो पटक उपत्यका बाहिरको कार्यक्रममा निस्किएका हुन् ।

 

Your Views
Related News