काठमाडौ : नेपालमा विगत २४ घण्टामा १,९८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा देशभरि १०,३८१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २२,००० नाघेको छ।तर पर्याप्त परीक्षण नभएकाले सङ्क्रमितको सङ्ख्या धेरै भएको हुनसक्ने विज्ञहरूको भनाइ छ।

मन्त्रालयले सोमवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले देशभरि १८,८८४ जना सक्रिय सङ्क्रमित छन्।यो सङ्क्रमितको कुल सङ्ख्याको ९.५ प्रतिशत हो।

नेपालमा १,३३७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ।

कति जना निको भए?

मन्त्रालयले अपराह्ण प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप ३,०४३ जना सङ्क्रमणमुक्त भएका छन्।अहिलेसम्म कुल दुई लाख २,०६७ जना निको भएको सरकारी तथ्याङ्क छ। यससँगै सङ्क्रमित निको हुने दर ९०.९ प्रतिशत पुगेको छ।

आइतवार १,६६९ जनामा सङ्क्रमण पुष्टि भएको विवरण मन्त्रालयले दिएको थियो।गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।

को हुन् सङ्क्रमित?

अहिले विभिन्न जिल्लामा सङ्क्रमित फेला परेका हुन्। तीमध्ये ७८९ महिला र १,१९१ पुरुष छन्।काठमाण्डू उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ।मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाण्डूमा ७७९ जनासहित उपत्यकामा १,००७ सङ्क्रमित फेला परेका हुन्।उपत्यकामा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १०,७९३ छ।

अरू तथ्याङ्क के छ?

मन्त्रालयका अनुसार अहिले देशभरि १२,२७१ सङ्क्रमित घरमै र बाँकी संस्थागत आइसोलेशनमा छन्।पीसीआर विधिबाट परीक्षण गरिएका नमुनामध्ये १३.३ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ।पुष्टि भएका सङ्क्रमितमा मृत्युदर ०.६ प्रतिशत छ। तर ६० वर्षभन्दा माथिको उमेरका सङ्क्रमितमा मृत्युदर उच्च छ।देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३६५ जना सघन उपचार कक्षमा र ६३ जना भेन्टिलेरमा छन्।अहिले हिमाली जिल्ला मनाङ र मुगुमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ भने काठमाण्डू उपत्यकाका तीन जिल्ला र कास्कीमा उक्त सङ्ख्या ५०० भन्दा बढी छ।

 

Your Views
Related News