काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा बन्द भएसँगै नेपाली युवतीसँग विवाह गर्न भारतको उत्तराखण्डस्थित पिथौरागढका २५ वर्षीय युवकले आठ महिना प्रतीक्षा गरेका हुन् ।

आठ महिनापछि दुवै देशका स्थानीय प्रशासनसँग वर र वधू पक्षले अनुमति लिएपछि गत शनिबार पुरोहितसहित पाँचजना जन्ती लिएर चिन्तामणि भट्ट नेपाल आएका थिए र बेलुका बेहुली लिएर फर्किएका थिए । उनका अनुसार गत फेब्रुअरी २८ मा उनले युवतीसँग भेटेका थिए । गत मार्चमा उनका परिवारले विवाहको छिनोफानो गरेका थिए । तर, कोरोना भाइरस नियन्त्रणका लागि भन्दै सीमा बन्द भएसँगै विवाह रोकिएको थियो ।

चिन्तामणिको विवाह बैतडी जिल्लाको गुरुखोला गाउँकी १९ वर्षीया अम्बिका भट्टसँग भएको छ।

आफन्तका अनुसार लकडाउनको कारण सीमा बन्द भएसँगै दुवै परिवार सीमा नखुल्दासम्म विवाह स्थगित गर्न सहमत भएका हो ।

विवाहको लागि शुभ मानिएको मंसिर महिना लागेपछि भने दुवै पक्षले पूर्णरुपमा सीमा खुल्ने मिति नकुर्ने निर्णय गरे ।

त्यसपछि उनीहरुले आ–आफ्नो क्षेत्रको प्रशासनसँग विवाहको अनुमति लिएका थिए । उनी झुलाघाटस्थित महाकाली नदीको झोलुङ्गे पुल पार गरी नेपाल आएका हुन्  ।

 

Your Views
Related News