काठमाडौ : नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने ठगी आरोपमा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले न्यौपानलाई चण्डोलबाट पक्राउ गरेको हो । सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले इन्जिनिरिङ कलेज चाँगुनारायण भक्तपुरमा ठगी गरेको आरोपमा न्यौपानलाई पक्राउ गरिएको बताए ।

न्यौपानेविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पनि उजुरी छ । उनी विरुद्धको अर्को मुद्दा अदालतमा विचराधीन छ ।नेपाल इन्जिनियरिङ कलेजमा न्यौपाने २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो पटक कार्यकारी अध्यक्षको रुपमा कार्यरत थिए । यस्तै उनको दोस्रो कार्यकाल २०७० मंसिर २३ देखि ०७५ असोज १५ गतेसम्म अध्यक्षको रुपमा कार्यरत थिए ।

इन्जिनियरिङ कलेजमा ठगी गरेको आरोपमा कांग्रेसका पूर्वसांसद सूर्यबहादुर केसी, जावलाखेलका रामरत्न उपाध्याय, विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लबराज भट्टराई प्रतिवादी छन् । कांग्रेस सांसद केसीको भने निधन भइसकेको छ ।

कलेजमा उनीहरुविरुद्ध तथ्यगत बिगो ८ करोड २१ लाख ६ सय ५० रुपैयाँ छ । यस्तै लेखा परीक्षणबाट खुल्न आएको बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।न्यौपानेको नाममा मात्रै ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ बराबरको ठगी गरेको आरोप छ ।

 

Your Views
Related News