पोखरा : श्वासप्रश्वासमा समस्या आएपछि चार वटा अस्पताल पुर्‍याउँदा पनि काठमाडौं घर भइ अन्नपूर्ण गाउँपालिका–३, कास्कीमा बस्दै आएका राजेश कार्कीको ज्यान बचेन । तीन वटा अस्पतालले भर्ना नलिइएपछि मणिपाल पुर्‍याइएका कार्कीको समयमा उपचार नपाएरै ज्यान गुम्यो ।

मेट्रोसिटी अस्पताल, लेकसेटी, फिस्टेल अस्पताल लगायतले आईसीयू र भेन्टिलेटर नभएको भन्दै पठाएपछि कार्कीले पनि स्याङ्जाकी धनमाया गुरुङकै नियति भोगे । कोरोना संक्रमित तथा सम्भावित संक्रमितले उपचार नै नपाएर मृत्युवरण गरेपछि गण्डकी प्रदेश सरकारको जनस्तरबाट आलोचना भएको छ ।बिरामीलाई भर्ना मिलाउन र अस्पतालको मापदण्ड तथा अवस्था हेर्न प्रदेश स्वास्थ्य निर्देशककोे संयोजकत्वमा गठित अनुगमन समितिमा गण्डकी मेडिकल कलेज, मणिपाल, चरक मेमोरियल, फिस्टेल अस्पतालका प्रतिनिधि समितिका सदस्य छन् ।तीनै अस्पतालमा भर्ना नपाएर बिरामीले ज्यान गुमाउँदा पनि सरकारले नियमन गर्न सकेको छैन । प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालमा कोभिडका बिरामीले उपचार पाउने बताएपनि त्यहाँ आईसीयू सञ्चालनमा ल्याउन सकेको छैन । असोजसम्म डेढ लाख पीसीआर जाँच गर्ने भनेको सरकारले मध्य मंसिरमा बल्ल १ लाख जनाको परीक्षण गरेको छ । बागलुङ र नवलपुरमा पीसीआर ल्याब सञ्चालन गर्ने प्रतिवद्धता पनि पुरा भएको छैन ।

सरकारले घोषणा गरेका, मुख्यमन्त्रीले संसदमै बोलेका कामहरु समेत नभएको र कोरोना नियन्त्रण तथा उपचारमा सरकार चुकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नेतृत्वको टोलीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर कोरोना नियन्त्रण र उपचारमा सरकार किन चुकिरहेको छ ? भनेर सोधेको छ ।उपचारै नपाएर जनताले ज्यान गुमाउनुपर्ने अवस्था आइरहेको छ । सरकारले किन आफैंले बोलेका र घोषणा गरेका काम पनि गर्न सकेको छैन ? कांग्रेस संसदीय दलका नेता नेपालीले मुख्यमन्त्रीलाई सोधे, ३१ वटा भेन्टिलेटर खरिद र ५१ आईसीयू तयार गर्न सरकारले बजेट छुट्याएको थियो । तर, जम्मा १३ वटा भेन्टिलेटर र २७ वटामात्र आईसीयू छ, बाँकी कता हरायो ?

जवाफमा मुख्यमन्त्री गुरुङले सरकारको संयन्त्र र अस्पतालहरुले आफूलाई असफल बनाउने प्रयास गरेको गुनासो गरेका छन् । ‘तपाईंहरु भनेभन्दा धेरै समस्या छ । मुख्यमन्त्रीले चाहेरमात्रै नहुँदोरह्छ भनेर पीडा सुनाउनुभयो,’ कांग्रेस सांसद कुमार खड्काले भने, आईसीयू र भेन्टिलेटर खरिद गर्न गएको साल नै बजेट पठाए पनि खरिद नगरिदिएको, निजी अस्पताल र सरकारी संयन्त्रले समेत काम नगरिदिएकाले समस्या भएको मुख्यमन्त्रीको भनाइ थियो ।’सामाजिक विकास मन्त्रालय, आफ्नै सरकारी संयन्त्र र कर्मचारीको प्रभावकारी भूमिका नहुँदा कोरोना नियन्त्रण र उपचारमा समस्या भएको मुख्यमन्त्रीको भनाइ थियो ।

प्रदेशका ११ वटै जिल्लामा आईसीयू स्थापनाका लागि अघिल्लो वर्ष नै बजेट विनियोजन गरेको भएपनि प्रक्रिया ढिला गरेर अझै काम हुन नसकेको मुख्यमन्त्रीको गुनासो थियो । प्रदेशको संक्रामक अस्पताल र जिल्ला अस्पतालहरुमा आईसीयू सञ्चालनमा ल्याउन दक्ष जनशक्ति पनि नभएको बताए ।बागलुङबाहेक अन्यत्र आईसीयू सञ्चालन गर्ने दक्ष जनशक्ति छैन । प्रदेशकै संक्रामक अस्पतालका लागि पनि जनशक्तिको माग गरिरहेका छौं तर पाएका छैनौं,’ मुख्यमन्त्रीले भने, ‘जिल्ला अस्पतालमा पनि कतै लेखा प्रमुख छैन, कतै मेडिकल सुपरिटेन्डेन्ट छैन । सरकारले पठाएको बजेट पनि खर्च हुन सकेको छैन ।’प्रदेशका कर्मचारीहरुले काम नगरिदिँदा आफूलाई अप्ठ्यारो गरेको मुख्यमन्त्रीको संकेत थियो ।

सामाजिक विकास मन्त्रालय अन्तर्गतका कर्मचारीले समयमै जिम्मेवारी पूरा नगर्दा आफूले दोष खेप्नुपरेको गुनासो मुख्यमन्त्रीले गरेको खड्काले जानकारी दिए ।कोरोना नियन्त्रणमा सरकारको ध्यान नपुगेको गुनासो जाँदा आफूहरुले मुख्यमन्त्रीबाटै धेरै गुनासै गुनासा सुनेर फर्किएको दलका नेता नेपालीले बताए ।म लागेको लाग्यै छु । उपचार नपाएर कुनै जनताको ज्यान नजाओस् भनेर पुच्छर निमोटेकै छु, तर सन्तोषजनक रिजल्ट आइरहेको छैन,मुख्यमन्त्री गुरुङको भनाइ उदृत गर्दै कांग्रेस नेता नेपालीले भने, ‘तत्काल बैठक बोलाएर अझै एक्सनमा जान्छौं । हामी गम्भीर भएर लाग्छौं भन्नुभयो ।

एक घर एक पीसीआर परीक्षणको माग गर्दै संसदमा संकल्प प्रस्तावसमेत पेस गरेको कांग्रेसले परीक्षणको बढाउन मुख्यमन्त्रीलाई आग्रह गरेको छ । बढी प्रभावित वडा वा टोललाई सिल गरेर एक घरको एक जनाको पीसीाआर परीक्षण गर्ने योजनामा सरकार रहेको मुख्यमन्त्री गुरुङले बताए । तपाईंहरुले उठाएको कुरा पनि जायज हो, हामी लक्ष्य नै जनतालाई जोगाउने हो,’ मुख्यमन्त्रीले भने ।सरकारले कोभिड उपचार गर्ने अस्पतालमा सम्पर्क व्यक्ति तोक्ने काम गरे पनि समन्वय र जनताले उपचार नपाएको कांग्रेसले ध्यानाकर्षण गराएको थियो । प्रत्येक अस्पतालमा डेस्क स्थापना गरी सरकारी कर्मचारी नै राखेर उपचारको प्रवन्ध मिलाउन मुख्यमन्त्रीसँग कांग्रेसले आग्रह सांसद ओमकला गौतमले बताइन् ।

विशेष अधिवेशन बोलाउन माग

कोरोना नियन्त्रणमा तत्काल नयाँ योजना ल्याएर प्रभावकारी काम गर्न नसके प्रतिपक्षी चुप लागेर नबस्ने मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको सांसद खड्काले बताए । सरकारी र निजी अस्पतालमा कोरोना उपचारको सहज व्यवस्थापन मिलाउन, पीसीआर टेष्ट बढाउन तथा भेन्टिलेटर र आईसीयूको प्रवन्ध मिलाउन भनेका छौं, खड्काले भने, ‘नभए प्रतिपक्षी दल चुप लागेर बस्दैनौं ।’कोरोना नियन्त्रण र उपचारमा सरकार प्रभावकारी नदेखिएकाले संसदको विशेष अधिवेशन बोलाउन कांग्रेसले माग गरेको छ । सरकारलाई विशेष अधिवेशन बोलाउन माग गर्ने विषयमा दलमा छलफल पनि भइसकेको छ,’ खड्काले अनलाइनखबरसँग भने, ‘विशेष अधिवेशनमार्फत कोरोना निन्त्रण र उपचारमा संयुक्त अनुगमन समिति बनाएर अस्पताल अस्पताल पुग्नेछौं ।सात प्रदेशमध्ये गण्डकी प्रदेशमा मात्र प्रमुख प्रतिपक्षी दल कांग्रेसले विशेष अधिवेशन बोलाउन सक्ने अवस्था छ । संसदको २५ प्रतिशत संख्याले विशेष अधिवेशन बोलाउन सक्ने व्यवस्था छ । ६० जना सदस्य रहेको गण्डकी प्रदेश संसदमा १५ जना कांग्रेस सांसद छन् । विशेष अधिवेशन बोलाउन राष्ट्रिय जनमोर्चाका ३ र संघीय समाजवादीका २ सांसदले साथ दिने कांग्रेसको विश्वास छ । ‘प्रदेशका जनता बचाउनभन्दा मुख्यमन्त्रीज्यू पार्टी बचाउन बढी दौडधुप गर्नुभयो,’ सांसद खड्काले भने, ‘हाम्रा अस्पतालहरुको अवस्था हेर्दा दर्दनाक छ । बिरामी परे ज्यानकै माया मार्नुपर्ने अवस्था छ ।

 

Your Views
Related News