कैलाली : समयमै स्वास्थ्य चौकी पुर्‍याउन सकेको भए शायद नामसरा विक यतिबेला आफ्नो शिशुसँग रमाइरहेकी हुन्थिन् । तुर्माखाँद स्वास्थ्य चौकीमा एम्बुलेन्स भइदिएको भए वा भैरवस्थल स्वास्थ्य चौकीको एम्बुलेन्स नबिग्रिएको भए पनि उनको शिशुले पनि यो संसार देख्न पाउँथे होला ।

तर न परिवारजने उनलाई समयमै स्वास्थ्य चौकी पुर्‍याए, न तुर्माखाँद स्वास्थ्य चौकीमा एम्बुलेन्स भेटियो, नत भैरवस्थल स्वास्थ्य चौकीको एम्बुलेन्सले साथ दियो ।सुत्केरी व्यथाले च्यापेपछि भएको अत्यधिक रक्तस्रावका कारण अछामको तुर्माखाँद गाउँपालिका ४ तुर्माखाँदकी ३८ बर्षीया नामसरा विकको मृत्यु भएको छ ।नामसरालाई सोमबार दिउँसो १२ बजे व्यथाले च्याप्यो । परिवारका सदस्यहरूले घरमै सुत्केरी गराउन थाले । उनको स्वास्थ्य अवस्था झन् बिग्रँदै गयो । अवस्था जटिल भएपछि मात्रै उनलाई तुर्माखाँद स्वास्थ्य चौकीतर्फ लगियो, त्यो पनि बोकेर ।

परिवारका सदस्यहरूले ३ घण्टामा स्वास्थ्य चौकी पुर्‍याए । त्यो बेलासम्म अत्याधिक रक्तस्राव भइसकेको थियो । ‘यहाँ पुराउँदासम्म उहाँको अवस्था गम्भीर भइसकेको थियो’, स्वास्थ्य शाखाका संयोजक एकेन्द्र बयकले भने, ‘आउनासाथ हामीले जिल्ला अस्पताल रेफर गर्‍यौँ ।’ तर स्वास्थ्य चौकीमा एम्बुलेन्स थिएन ।तुर्माखाँद गाउँपालिका–३ स्थित भैरवस्थाल स्वास्थ्य चौकीबाट एम्बुलेन्स मगाएर जिल्ला अस्पताल पठाइयो । तर त्यो एम्बुलेन्स पनि बाटोमै बिग्रियो । त्यसपछि निजी गाडी खोजेर अस्पताल पुर्‍याइएछ’ स्वास्थ्य संयोजक बयकले भनेका छन् । नामसरालाई जिल्ला अस्पताल पुर्‍याउँदा रातको १० बजिसकेको थियो ।

व्यथाले च्यापेको १० घण्टापछि अस्पताल पुगेकी उनलाई चिकित्सकले जोगाउन सकेनन् । अत्याधिक रक्तस्रावले प्राण लियो । ‘राति करिब १० बजेतिर जिल्ला अस्पताल आइपुग्नु भएको थियो,’ डा. अतुल भारद्वाज भन्छन्, ‘हामीले नर्मल डेलिभरी नै गरायौं । तर बच्चा पेटमै मरिसकेको थियो ।’राति १२ बजे बच्चा जन्मिएको थियो । त्यसको केही समयपछि नमसराको पनि मृत्यु भएको छ । ‘अनेक प्रयास गर्दा पनि हामीले बचाउन सकेनौं’ डा. अतुल भारद्वाजले भने, ‘सायद समयमै अस्पताल पुराएको भए आमा र सन्तान दुवै जोगिने थिए ।’

अस्पताल नपुग्दै जान्छ ज्यान

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सुरक्षित प्रसूति सेवा नपाएरै सुत्केरीको मृत्यु भएको यो पहिलो घटना भने होइन । हरेक वर्ष थुप्रै नमसराहरुले ज्यान गुमाउने गरेका छन् ।२२ असोजमा बाजुराको बुढीनन्दा नगरपालिका–४ की २३ वर्षीय अम्बकला रोकायालाई व्यथा लाग्यो । परिवारले नजिकै रहेको आधारभूत स्वास्थ्य इकाईमा लैजाने तयारी गरे, तर बर्थिङ सेन्टरमा सुत्केरी गराउने जनशक्ति थिएन ।

स्वास्थ्य इकाईमा रहेका अनमी र अहेब पनि कार्यालय सहयोगीलाई जिम्मा लगाएर कोल्टी गएका रहेछन् । अम्बकलालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजानुपर्ने भयो । आफन्तले बोकेर पाँच घण्टाको दुरीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बोकेर लैजाँदै थिए, तर । तर दोगाडे पुग्दा उनको मृत्यु भयो ।२५ भदौमा बाजुराकै बुढीनन्दा नगरपालिका वडा नं. १० का ३५ बर्षीया निर्मला बोहराको उच्च रक्तस्रावका कारण मृत्यु भयो । भदौ ७ गते जिल्ला अस्पताल बाजुरामा बडीमालिका नगरपालिका(७ का २१ बर्सिया वसन्ती नेपालीको सुत्केरी हुँदा ज्यान गयो ।

१६ कात्तिकमा त्रिवेणी नगरपालिका १ छताराका ३७ बर्षीया रजिया नेपालीको मृत्यु भएको थियो । सुत्केरी बेथा लागेपछि आफन्तहरूले नजिकैको छतारा स्वास्थ्य चौकीमा पुर्‍याएका थिए । तर अर्काे दिन बिहान उनको ज्यान गयो ।१० मंसिरमा जगन्नाथ गाउँपालिका–५ गोत्री सामुदायिक एकाइ केन्द्रमा जगन्नाथ गाउँपालिका–६ गोत्रीकी ३५ बर्षीया पुल्ती रावलको मृत्यु भएको थियो ।पछिल्लो समय जटिल अवस्थाका सुत्केरी तथा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार पनि नगरिएको होइन ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम र जटिल गर्भवती महिला तथा सुत्केरी महिला उद्धार कार्यक्रम अन्तर्गत १० जना सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।‘तर अझै पनि घरमै सुत्केरी गराउनेहरू छन्, जसका कारण गर्भवती तथा सुत्केरी महिलाहरूको मृत्यु भइरहेको छ’ उनले अनलाइनखबरसँग भने ।

 

Your Views
Related News