स्थानीय उपभोक्ता समितिको सर्वसम्मतिले निर्णय गरेरै मलाई पुल उद्घाटनका लागि बोलाइएको थियो । यो पुल निर्माणका क्रममा मेरो योगदान छ । पछि व्यास नगरपालिकाको सहयोगबाट निर्माण सकिएको हो । यसमा नेकपा सांसदको कुनै सहयोग र योगदान छैन ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्न बुल्दी खोलामाथि बनाइएको पुल उद्घाटन गर्न जाने क्रममा दमौली, तालघरेमा पक्राउ गर्दै प्रहरी । तस्बिर सौजन्य : प्रकाश अधिकारी

पुल उद्घाटन गर्न जाने क्रममा जुन प्रकारको घटना भयो, यो तत्कालीन आवेश र आक्रोशमा भएको होइन । नियोजित रूपमा हमला गरिएको हो । प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा यो घटना भएको हो । यसलाई सामान्य मान्न सकिन्न । स्थानीय प्रशासन र प्रहरीको सुरक्षा दिने काम हो । तर प्रहरी र प्रशासनले नै मिलेर मलाई रोके । ममाथि दुर्व्यवहार गरे ।

स्थानीय प्रशासनले सरकारको आदेश भन्दै जे गर्‍यो, त्यो ठूलो गल्ती हो । स्थानीय प्रशासन र प्रहरी परिचालनको पनि एउटा सीमा र तरिका हुन्छ । पञ्चायतकालमा समेत नभएको दुर्व्यवहार आज भएको हो । लट्ठीले घोच्नुका साथै अमर्यादित तरिकाले दुर्व्यवहार भयो । यो सामन्त, अधिनायकवाद र सर्वसत्तावादको उन्माद हो । यसविरुद्ध लोकतन्त्र पक्षधरहरू उठ्न आवश्यक छ । पार्टीका सबै साथीहरू जाग्न आवश्यक हो ।

म धेरै बोल्न सक्ने अवस्थामा अहिले छैन । लट्ठीको घोचाइ, प्रहरीको घचेटाघचेट र दुर्व्यवहारले छातीमा पीडा भएको छ । साँझ दमौलीको रत्नहरि अस्पतालमा छातीको एक्सरे गराएँ । चिकित्सकहरूले धेरै नबोल्न भनेका छन् । करङको भागमा चोट देखिएको छ । दिउँसोसम्म ठीकै थिएँ । अहिले पीडा बढेको छ । बिहीबार राजधानी आउनसमेत नसक्ने अवस्थामा छु । पार्टीले यस घटनालाई गम्भीर रूपमा लिनुपर्छ । ओली सरकारको अधिनायकवादविरुद्ध अब नउठी सुख छैन ।

 

Your Views
Related News