उदयपुर : कटारी नगरपालिका–८ स्थित सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा बम विस्फोट हुँदा ४ मजदुर घाइते भएका छन् । खानीमा बिहीबार राति सवा १२ बजे चारपटक विस्फोट भएको हो ।

घाइते हुनेमा कटारी नगरपालिका–८ का २४ वर्षीय विष्णुबहादुर मगर, वडानं ७ का २३ वर्षीय नवीन मगर, उदयपुरगढी गाउँपालिका–२ का दुर्गा तामाङ र मकवानपुरका ३० वर्षीय सागर मोक्तान छन् ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । उनीहरू कटारी अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । बम कसले राखेको भन्ने खुलिनसकेको पनि भण्डारीले बताए ।चारवटा बम एकैसाथ पड्किँदा मजदुरहरूबीच भागाभाग मच्चिएको थियो । घटनास्थलमा शंकास्पद वस्तु अरू पनि देखिएपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको भण्डारीले जानकारी दिए ।

विस्फोटबाट खानीमा रहेका ४ वटा एक्स्काभेटर र एउटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।घटनालगत्तै डीएसपीको नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए । अज्ञात समूहले सुतली र सकेट बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

यसअघि पनि ताप्ली गाउँपालिका कार्यालयलाई लक्षित गरी मंसिर ७ गते पनि अज्ञात समूहले बम विस्फोट गराएको थियो । दुवै घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक दाहालले बताए ।

 

Your Views
Related News