ओलीले गरे ११९९ जनाको केन्द्रीय कमिटीको घोषणा, ५५६ नयाँ सदस्य मनोनित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यहरूको भेलामा राखेको प्रस्ताव अनुसार पार्टीको केन्द्रीय कमिटीमा मनोनयन गरेका ५५६ जनाको नाम अनुमोदन भएको बताइएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा राखेको जानकारी अनुसार नेकपाको कुल केन्द्रीय सदस्यको सङ्ख्या ११९९ बनाउने निर्णय भएको छ।

यसअघि नेकपामा झण्डै साढे ४ सयजनाको केन्द्रीय कमिटी रहेको थियो।त्यसमा तत्कालै ५५६ जना थपिएका छन् र रिक्त रहेका १९६ जना पछि थप्ने तयारी ओली पक्षको रहेको छ।

मनोनित सदस्यहरूको नाम बैठकले अनुमोदन गरेको र उनीहरूलाई ओलीले शपथग्रहण गराएको थापाले जानकारी दिए।उक्त भेलामा पूर्व माओवादी पक्षबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट सहितका नेताहरू सहभागी भएका विवरण आएका छन्।

नेकपा केपी ओली इतर समूहको बैठक दिउसो

एजेन्डा केपी ओलीमाथि कारबाही र संसद् विघटनको विरोध ,नेकपाका अर्का अध्यक्ष प्रचण्डको नेतृत्वमा दिउसो १ बजे राजधानी काठमाण्डूस्थित एउटा ब्याङ्क्वेटमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ।केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बैठकको एजेन्डा बाँडिएको छैन तर संसद् विघटनको विरोध र केपी ओलीमाथि कारबाही आजको मुख्य विषय हुनेछन्।

नेकपामा धेरै केन्द्रीय सदस्य रहेकाले बैठक केही दिन लम्बिन सक्ने ठानिएको छ।एकीकरण अगाडिको नेकपा एमाले र नेकपा माओवादीबीच एकता भएपछि नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो।प्रधानमन्त्री तथा केपी ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक यो समाचार तयार पारुन्जेल जारी छ।

Image caption: (फाइल फोटो) सांसदहरूको भेलामा सहभागी हुन लागेका नेकपाका बरिष्ठ नेताहरू

व्यवसायीहरूलाई अस्थिरताको चिन्ता

कोरोनाभाइरस महामारीका कारण लामो समयदेखि प्रभावित भएको उद्योग व्यवसाय क्षेत्र पछिल्लो राजनितिक घटनाक्रमले थप प्रभावित हुने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्।

संसद विघटनपछि शुरु भएको आन्दोलन जस्ता क्रियाकलापले उद्योग व्यवसाय देखि पर्यटन क्षेत्रमा असर पर्ने आशंका उनीहरूमा देखिन्छ।

राजनीतिक अस्थिरताले लगानीको वातावरण पनि बिग्रिने व्यवसायीहरूको भनाइ छ।

थप पढ्नुहोस

Image caption: सडक प्रदर्शन र जुलुस हुन थाले व्यवसाय र अर्थतन्त्रमा असर पर्ने चिन्ता गरिएका छन्

कांग्रेस केन्द्रीय समितिको बैठक

एजेण्डा विरोधका कार्यक्रम र ‘संविधानको रक्षाको खोजी’

मुख्य विपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक मङ्गलवार दिउसो १ बजे बोलाइएको छ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेकोमा सैद्धान्तिक विरोध जनाएको नेकाले अबका दिनको रणनीति तय गर्न बैठक डाकेको बताइएको छ।

नेता बालकृष्ण खाँडले बीबीसीलाई बताए अनुसार केन्द्रीय समिति बैठक केही दिन लगातार बस्नेछ।

उनले भने “संसद भङ्ग गर्ने प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधका कार्यक्रम तय गर्नेछौँ र संविधानको रक्षा कसरी गर्ने भन्ने पनि तय गर्नेछौँ।”

कांग्रेसका काठमाण्डूमा उपस्थित केन्द्रीय समिति सदस्यहरू केन्द्रीय कार्यालयमा बैठकमा सहभागी हुने बताइएको छ।

Image caption: (फाइल फोटो )नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ

राजनीतिक अस्थिरताका माझ कोरोनाभाइरसको खोप आपूर्ति के होला?

कोरोनाभाइरसको महामारीकामाझ संसद् विघटन गरेर सरकारले निर्वाचनको बाटो लिएको छ।

त्योसँगै सडकहरूमा दलका नेता कार्यकर्ताको भिड ओर्लन थालेको छ।

पछिल्लो राजनीतिक घटनाक्रमले कोरोनाभाइरस विरुद्धको खोप आउने काम प्रभावित हुने र भिडभाडले सङ्क्रमण बढ्ने हो की भन्ने चिन्ता व्यक्त हुन थालेका छन्।

स्वास्थ्यमन्त्रालयका अवैतनिक सल्लाहकार समेत रहेका जनस्वास्थ्यविद डा. सुरेश तिवारीका अनुसार राजनीतिक उतारचढावका कारण खोप ल्याउनका निम्ति भइसकेका तयारी त रोकिँदैन तर आपूर्ति पक्कै ढिलो हुनसक्छ।

“हामीले विभिन्न उत्पादक देश अनि अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि पहल गरिसकेको अवस्था छ। तर हिजोका हाम्रा तयारीलाई अझ रणनीतिक रूपमा अनि स्रोत र साधन जुटाउँदै अगाडि बढ्नुपर्ने अवस्थामा राजनीतिक वृत्तमा देखिएको अलमलले केही ढिलाइ हुने त पक्कै देखिन्छ,” तिवारीले भने।

खोपलाई स्रोत के होला?

अर्बौँ रुपैयाँ खोप आपूर्ति गर्न आवश्यक पर्ने बेला चुनावी खर्च समेत जुटाउन अब सरकार बाध्य हुने देखिन्छ।

“सरकारले खोपका लागि चाहिने स्रोतको आकलन गरिसकेको छ। नेपाल सरकारले खोपलाई सार्वजनिक वस्तुको रूपमा लिएको हुनाले प्रारम्भिक रूपमा २०-४० प्रतिशत जनसङ्ख्यालाई नि:शुल्क खोप लगाउन पनि ठूलो धनराशि आवश्यक पर्छ,” उनले भने।

यसअघि गरिएका आकलनमा करिब ७० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउन झन्डै ५० अर्ब रुपैयाँ जति आवश्यक पर्ने देखिएको थियो।

नेकपा केन्द्रीय कमिटीको बैठकः ओली पक्षको बैठक बालुवाटारमा

प्रधानमन्त्री निवास बालुवाटारमा एक बैठक जारी, प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखि नेकपाको प्रधानमन्त्री ओली समर्थक नेताहरूको बैठक चलिरहेको छ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विटरमा जनाए अनुसार नेकपा केन्द्रीय कमिटीको आकस्मिक बैठक अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा सुरु भएको छ।

दिउसो १ बजे प्रचण्ड-नेपाल समूहले पनि पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने बताएको छ। विश्लेषकहरूले नेकपाको केन्द्रीय समितिको समानान्तर बैठकलाई नेकपाको औपचारिक फुट हुने घटनाक्रमका रूपमा अर्थ्याइरहेका छन्।

मुख्य विपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको छ। दिउसो १ बजे बस्ने बैठकको एजेन्डा भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।

 

Your Views
Related News