पुष्पकमल दाहाल प्रचण्डले नेकपाको आफ्नो पक्षको बैठकमा मञ्चमा रहेको आसनले वामदेव गौतम र रामबहादुर थापाको खोजी गरेको बताएका थिए।

गृहमन्त्री थापा आफू निकटहरूको चर्को दबाव बेवास्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका छन्।

तर उपाध्यक्ष गौतम अझैँ खुलेका छैनन्। किन मौन छन्, कहिले निधो गर्लान् र कता लाग्लान् उनी?

गौतमका पुराना राजनीतिक सहयात्री एवम् पूर्वमन्त्री हरि पराजुलीका भनाइमा ‘आफ्नो महत्त्वपूर्ण भूमिका रहेको आन्दोलनलाई एकताबद्ध बनाउने उपाय सम्भव रहँदासम्म प्रयास जारी गर्नुपर्ने भएकाले यो वा त्यो समूहमा आबद्ध हुन्न’ भन्ने नेता गौतमको धारणा छ।

‘त्यो प्रयास’ विफल भएपछि गौतमको ‘तटस्थता र मौनता’ पनि टुङ्गिने उनले बताए।

‘सर्वोच्चको आदेशको पर्खाइ’

तर प्रयास कहिलेसम्म जारी रहन्छ? पराजुली भन्छन्, “जबसम्म सर्वोच्च अदालतले फैसला गर्दैन।”

उनका अनुसार गौतमले देखेको सहमतिको सम्भावनाको सूत्र हो, सरकारले बाँकी दुई वर्षको कार्यकाल पूरा गर्ने र प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन सिफारिस गर्ने सहमति।

उनले भने, “सर्वोच्च अदालतले फैसला नदिँदै प्रतिनिधिसभा विघटनको सिफारिस फिर्ता लिने प्रावधान रहेको कानुनविद्हरूले बताएको र सर्वोच्चमा निवेदन दिएर पनि हुन्छ कि भनेर उहाँ व्यापक कानुनी र राजनीतिक परामर्शमा हुनुहुन्छ।”

तर कतिपयले गौतमले सर्वोच्चको निर्णयका आधारमा कता लाग्ने भन्ने निर्णय गर्न सजिलो हुने भएकाले पर्खिएको हुनसक्ने अनुमान गरिरहेका छन्।

बहुदलीय जनवादको नेतृत्व

पराजुली आफै भने सर्वोच्चले चुनावको ढोका खोलिदिनेमा ढुक्क सुनिन्छन्। त्यस्तो अवस्थामा गौतमले के गर्लान्?

“जनताको बहुदलीय जनवादको नेतृत्व गर्दै साँचो अर्थमा, मदन भण्डारीले देखेका सपनाहरू साकार पार्न नेपाली जनतालाई प्रगति, सुख र समृद्धि प्रदान गर्नका निम्ति अघि बढ्नुहुन्छ,” पराजुली सुनाउँछन्

अदालतले चुनावको पक्ष वा विपक्ष जेसुकै फैसला गरे पनि गौतमको मार्गचित्र (रोडम्याप) त्यही भएको उनको ठम्याइ छ।

आफैले असंवैधानिक भनेको कदमको परिणाम हुने चुनावमा भाग लिन मिल्छ त?

पराजुली प्रतिप्रश्न गर्छन्, “सम्मानित सर्वोच्च अदालतले असंवैधानिक होइन संवैधानिक हो भन्यो भने के गर्ने, त्यसको विरुद्धमा जान सकिन्छ?”

सह-अध्यक्ष/उपाध्यक्ष होइन, अब अध्यक्ष

कतिपयले जनताको बहुदलीय जनवादलाई ओली पक्षले उठाइरहेकाले गौतम पनि उतै लाग्ने सम्भावना देख्ने गरेका छन्।

उनी सहअध्यक्ष बन्ने चर्चा पनि चलेकै छ।

तर पराजुलीका भनाइमा पार्टी नफुट्दासम्म उपाध्यक्ष भए पनि फुटेपछि नेता गौतम उपाध्यक्ष वा सहअध्यक्ष बन्ने छैनन्, अध्यक्ष बन्नेछन्।

केपी ओलीले अध्यक्ष दिन्छन्? “नदिए आफ्नै पार्टीको अध्यक्ष बन्ने,” पराजुलीले भने।

तर उनले अहिलेको परिस्थितिमा ‘नयाँ पार्टी गठन गर्ने मौसम नभएको’ स्वीकार पनि गरे।

उनका धारणा सुन्दा गौतमको निकटता ओलीसँगै देखिन्छ। गौतम निकट कतिपय नेताहरू ओली पक्षमा लागिसकेको बताइन्छ।

 

Your Views
Related News