प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद् पुनर्गठन गर्दा एक मन्त्री र एक राज्यमन्त्रीलाई हटाए।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड पुनर्गठनमा अटाएनन्।

विश्वकर्मालाई दावा लामा तामाङले र दुगडलाई विमला विकले विस्थापित गरे।

दुई खेमामा विभाजित नेकपामा समूह फेर्ने क्रम चलिरहेका बेला ती दुई मन्त्री कुन मनस्थितिमा छन् भन्ने कैयौँलाई चासो छ।

‘सहमतिमा बिदा’

पुनर्गठनअघि प्रधानमन्त्री ओलीसँग छलफलमा भएको सहमतिअनुसार खेलकुदमन्त्रीबाट बिदा लिएको विश्वकर्माले जानकारी दिए।

उनले भने, “अहिले हाम्रो पार्टी जीवनमा उत्पन्न परिस्थिति समेतलाई विचार गर्दै अरू काममा लाग्नुपर्ने निष्कर्षमा पुग्यौँ, आपसी सल्लाह तथा मेरो समेतको सहमतिमा मैले मन्त्रीबाट बिदा लिएको हो।”

आफ्नो सन्तुष्टिमै उक्त निष्कर्षमा पुगेको उनको भनाइ छ, “बिल्कुल असन्तुष्ट छैन।”

आपसी सल्लाह तथा मेरो समेतको सहमतिमा मैले मन्त्रीबाट बिदा लिएको हो
जगतबहादुर सुनार विश्वकर्मा
निवर्तमान मन्त्री

उनी खेलकुदमन्त्री हुँदा नै दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको तेह्रौँ संस्करण नेपालमा सम्पन्न भएको थियो, जसलाई सरकारले एउटा प्रमुख सफलताको रूपमा प्रस्तुत गरेको थियो।

तर प्रतियोगिताअघि र पछि पुनर्गठनको चर्चा चल्दा मन्त्री विश्वकर्मा सरकारबाट बाहिरिने अनुमानहरू सार्वजनिक हुने गरेका थिए।

‘बलिदानको निम्ति तयार’

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारीबाट मुक्त भएका मोती दुगडले पनि पार्टीका वरिष्ठ नेताहरूको आग्रह आफूले सहर्ष स्वीकार गरेर सरकारबाट बिदा भएको प्रतिक्रिया दिए।

सरकारको एउटा कनिष्ठ मन्त्री भएर पनि आफूले राम्रो काम गरेको मूल्याङ्कन पार्टीभित्र र बाहिर भएको भन्दै उनले सन्तोष व्यक्त गरे।

उनले भने, “कुनै असहमति वा विवाद छैन, मेरो पार्टी हो, यसको निम्ति जुनसुकै बलिदान गर्न सक्छु।”

पार्टीकै वरिष्ठ नेताहरूले ‘तपाईँको कार्यकाल राम्रो रह्यो, फेरि अवसर पाउनुहुन्छ तर अरूलाई पनि व्यवस्थापन गर्नुपर्ने भएकाले यस पटकलाई छोड्नूस्’ भनेपछि आफू तुरुन्तै तयार भएको दुगडले बताए।

उनी संविधानसभामा सद्भावना पार्टी आनन्दीदेवीबाट सदस्य थिए।

विवादपछि उनले दोस्रो संविधानसभाको चुनावमा बनाएको आफ्नो नव नेपाल निर्माण पार्टीलाई तत्कालीन नेकपा एमालेमा विलय गराएका थिए।

नेकपामा विवाद चर्किएपछि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले दुई समूहको नेतृत्व गरेका छन् र दुवै पक्षले एकअर्का तर्फ लागेका नेता तान्ने प्रयास गरिरहेको देखिन्छ।

 

Your Views
Related News