बुटवल : जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरजस्तै निरंकुश र तानाशाही नेता भएको जनाउँदै छिट्टै पतन हुने बताएका छन् ।

प्रेस नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राज्यका सबै अंग नियन्त्रणमा लिएर दुई तिहाइ मतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्नु चरम निरंकुशता र तानाशाही प्रवृत्ति भएको टिप्पणी गरे । ‘म उनलाई हिटलरसँग तुलना गर्छु,’ उनले भने, ‘केपी शर्मा ओलीमा पनि चरम महत्त्वाकांक्षा छ । निरंकुशता छ । यस्ता शासक जतिसुकै बलिया ठानिए पनि छिट्टै पतन हुन्छन् । आफू मात्रै होइन अरूलाई पनि सर्वनाश पार्छन् ।’

नेता भट्टराईले प्रधानमन्त्रीको कदम प्रतिगमन मात्र नभई लोकतन्त्र र संविधानमाथिकै प्रहार भएको बताए । ‘राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान, एनटी मनी सेक्टर ( अख्तियार) जस्ता अंगलाई कब्जा गरेर प्रतिनिधि सभा भंग गर्नुभाछ । आफू एक्लै शासक बन्नुभाछ । यो लामो समयदेखिको सेटिङ र महत्त्वाकांक्षाका कारण भएको हो,’ उनले भने । ओली आन्तरिक रूपमा कमजोर तर महत्त्वाकांक्षी भएकाले देशीविदेशी शक्तिले उपयोग गरेको भट्टराईले आरोप लगाए । अदालत र न्यायाधीशलाई डर देखाइएका कारण सुनुवाइ प्रक्रिया लम्ब्याइएको आशंका पनि उनले गरे ।

भट्टराईले प्रतिनिधिसभा पुन:स्थापनाविना कुनै हालतमा निर्वाचन नहुने तर ध्यान विकर्षण गर्न मात्रै चुनावी तयारीको नाटक गरिएको आरोप लगाए । ‘निर्वाचन तयारीको नाटक गरेका छन् । यो भ्रम मात्रै हो । निर्वाचन हुन्न,’ उनले बताउनुभयो ।

नेता भट्टराईले अब प्रतिनिधिसभा विघटनलाई जनताको बलमा सच्याउनुबाहेक अर्को विकल्प नरहेको बताए । नेकपा विभाजनको औपचारिक टुंगो नलाग्नु र कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलहरूबीच साझा आन्दोलन हुन नसकेको उनको भनाइ हो।

 

Your Views
Related News