छयसट्ठी दिनसम्म प्रतिनिधिसभा विघटित अवस्थामा रहे पनि सांसद र उनीहरूका स्वकीय सचिवले पाउनुपर्ने मासिक तलब निकासा गर्न कुनै नियमले रोक्ने स्थिति नरहेको संसद्‌ सचिवालयका अधिकारीहरूले स्पष्ट पारेका छन्।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आवधिक निर्वाचनको मिति घोषणा गरेकी थिइन्।तर विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन ११ गते ‘असंवैधानिक’ ठहर गर्दै प्रतिनिधिसभालाई पुनर्स्थापित गरिदिएको थियो।प्रतिनिधिसभा विघटित अवस्थाको मासिक तलब सांसदहरूले पाउने वा नपाउने भन्ने धेरैको चासो रहेका बेला संसद्‌ सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले सो अवधिको पनि उनीहरूले तलब पाउने बीबीसी न्यूज नेपालीलाई बताए।

मासिक कति रकम जान्छ?

संसद्‌ सचिवालयका अधिकारीहरूका अनुसार सांसदहरूको मासिक तलब वापत दुई करोड रुपैयाँ हाराहारीमा निकासा हुने गरेको छ।”प्रतिनितिसभा विघटन हुनुअघि मङ्सिर महिनाको कुरा गर्नुपर्दा एक करोड ९४ लाख २० हजार रुपैयाँ हामीले निकासा गरेका थियौँ,” प्रमुख लेखा नियन्त्रक सिग्देलले भने।

यसरी ६६ दिनको हिसाब गर्दा सो अवधिको सांसदहरूको तलब वापत राज्य कोषबाट चार करोड रुपैयाँ जति खर्चिने देखिन्छ।सिग्देलका अनुसार संसदीय समितिका सभापति, प्रमुख प्रतिपक्षी दलका नेता तथा दलका सचेतक लगायतको मासिक तलब चाहिँ सांसदहरूको भन्दा केही बढी हुन्छ।

सांसदहरूले मासिक तलबबाहेक डेराभाडा, टेलिफोन, यातायात र बैठकभत्ता लगायतका सुविधा पनि पाउने गरेका छन्।”तर विघटित अवस्थामा प्रतिनिधिसभाको कुनै बैठक हुने अवस्था नरहेकोले बैठकभत्ता पाउने कुरै भएन,” सिग्देलले भने।

स्वकीय सचिवको छुट्टै तलब

प्रत्येक सांसदले शाखा अधिकृत सरहका एकजना स्वकीय सचिव राख्न पाउने व्यवस्था छ।पछिल्लो समय स्वकीय सचिवहरूको मासिक तलब उनीहरूकै खातामा पठाउने गरिएको संसद्‌ सचिवालयका अधिकारीहरू बताउँछन्।

त्यसअघि सांसदहरूकै खातामा पठाउने गरिएकोमा त्यो रकम पनि उनीहरूले नै खर्च गरिदिने गरेका विवरणहरू सञ्चारमाध्यमहरूमा आएपछि सिधै स्वकीय सचिवहरूको खातामा पठाउन थालिएको हो।”स्वकीय सचिवहरूको मासिक तलब वापत एक करोड पाँच लाख ६८ हजार ६८ हजार रुपैयाँ निकासा हुने गरेको छ,” सिग्देलले भने।

 

Your Views
Related News