विराटनगर : क्याम्पस प्रशासनले आवेदन फारम भर्न नदिएपछि एकजना विद्यार्थी परमादेश माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले आवेदन फारम भर्न नदिएपछि रङ्गेली नगरपालिका-३ का १८ वर्षीय कबिर पन्तले परमादेश माग गर्दै उच्च अदालत पुगेका हुन् ।

काठमाडौंको शंकरदेव क्याम्पसबाट सिम्याटको प्रवेश परीक्षा उत्तीर्ण गरेका पन्तले महेन्द्र मोरङ क्याम्पसमा बीबीएको आवेदन फारम भर्न खोजेका थिए । तर दुई पटक पुगेका उनलाई क्याम्पस प्रशासनले अन्य कलेजबाट इन्ट्रान्स दिएकालाई भर्ना गर्न नमिल्ने भनेको थियो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयको सूचनामा जुनसुकै कलेजबाट इन्ट्रान्स पास गरेका विद्यार्थीले सो कोर्स रहेका जुनसुकै क्याम्पसमा आवेदन फारम भर्न पाउने सूचना जारी गरेको हो।

प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई फागुन २० गतेदेखि २५ गतेसम्म आवेदन फारम भर्नका लागि सूचना निकालेको थियो । तर फागुन २३ र २५ गते पुग्ने विद्यार्थीलाई क्याम्पस प्रशासनले फर्काएको हो ।

आवेदन फारम भर्न नपाएपछि २५ गते नै महेन्द्र मोरङ क्याम्पस, सोही क्याम्पसको बीबीए विभाग र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिन कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको पन्तका साथी योगराज दाहालले जानकारी दिए ।

 

Your Views
Related News