बैतडी — बलात्कारपछि हत्या गरिएकी बैतडीकोदोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको हत्या प्रकरणका आरोपित किशोरको तेस्रोपटक म्याद थप गरिएको छ । शुक्रबार बैतडी जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो ।

जिल्लाका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले अनुसन्धानको फाइल केही दिनमै सरकारी वकिल कार्यालयमा बुझाउने तयारी रहेको बताए । आरोपित नाबालक भएकाले २१ दिनभन्दा बढी प्रहरी हिरासतमा राख्न नपाउने प्रावधान भएकाले त्यसभित्रै सबै अनुसन्धान सक्ने गरी काम भइरहेको छ । केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको मृतकको भजाइनल स्वाब, मुखको स्वाब र योनिबाट निस्केको रगतको परीक्षण रिपोर्ट अझैसम्म नआएको प्रहरीले जनाएको छ । रिपोर्ट आएसँगै मिसिलमा प्रमाण थपिने डीएसपी अधिकारीले बताए ।

दोगडाकेदार–३ स्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथी माघ २१ गते विद्यालय गएकी थिइन् । दिउँसो २ बजे विद्यालयबाट घर जान हिँडेकी उनको भोलिपल्ट खोचलेक—चडेपानी ग्रामीण सडकबाट ३० मिटर तल वनमाराको झाडीमा शव फेला परेको थियो । प्रहरीले सोही विद्यालयमै कक्षा ११ मा पढ्ने उनकै १६ वर्षीय छिमेकी भाइलाई घटनाको मुख्य आरोपीका रूपमा प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आरोपितले भागरथीको बलात्कारपछि हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

यस्तै, दोगडाकेदार–७ मा यसअघि भएका अन्य हत्याका घटनाको अनुसन्धान पनि प्रहरीले सुरु गरिसकेको जनाएको छ । सोही गाउँमा १ महिला र ४ पुरुष गरी ५ जनाको हत्या भएको वर्षौं हुँदा पनि घटनाको अनुसन्धान हुन सकेको थिएन । यीमध्ये केही घटनाका उजुरी प्रहरी कार्यालयमा पुगेर पनि अनुसन्धान भएका छैनन् भने केही प्रहरीसम्म पनि पुगेका थिएनन् । भागरथीको घटना भइसकेपछि हालसम्म सामसुम पारिएका यी घटनाहरूबारे पीडित पक्ष र स्थानीयले मुख खोलेका हुन् । पहिलेका घटनामा गम्भीरतापूर्वक अनुसन्धान नगरिएको हुँदा अहिले फेरि अनुसन्धान सुरु गरिएको डीएसपी अधिकारीले बताए । यी घटनाका दोषीलाई पनि छिट्टै सार्वजनिक गर्ने उनले दाबी गरे ।

 

Your Views
Related News