काठमाडौं : प्युठान, गुल्मी र बाग्लुङको संगमस्थलमा पर्ने दर्लिङमा हरेक वर्ष होलीको समयमा युवाहरुको जमघट हुन्छ । बडिगार्ड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाका अनुसार कसैले औपचारिक कार्यक्रम नराखे पनि वर्षेनि युवाहरु वनभोज खाँदै रमाइलो गर्न त्यहाँ पुग्छन् ।

आइतबार पनि बडिगार्ड गाउँपालिका–१०, दर्लिङमा तीनै वटा जिल्लाका युवाको बाक्लो उपस्थिति थियो । अपरान्ह ३ बजेपछि त्यहाँ एकाएक अशान्ति मच्चियो । निसी खोलाबाट आएका युवा र दर्लिङका युवा खुकुरी बोकेर कुटाकुटमा उत्रिए ।निसीखोला गाउँपालिकाको वडा नं. ७ का वडाध्यक्ष तेजेन्द्र विक्रम कुँवरका अनुसार होलीमा अर्को समूहका सदस्यलाई अविर लगाइदिएपछि ‘किन लगाइस्’ भन्दै झगडा सुरु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, बाग्लुङले गरेको प्रारम्भिक अनुसन्धान अनुसार लिसी खोलाका युवाले दर्लिङका युवतीलाई रङ लगाइदिएपछि विवाद सुरु भएको थियो । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका दर्लिङका युवाले त्यसपछि लिसी खोलाका युवालाई कुटपिट गर्न थालेका थिए । प्रहरीका अनुसार उनीहरुले खुकुरीसमेत बोकेका थिए ।

दुई पक्षबीच कुटपिट जारी रहँदा लिसी खोलाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई सख्त घाइते भए । घाइते अवस्थामा पनि दर्लिङका युवाले उनीहरुलाई छाडेनन् । धलेकाधलेक गर्दै गर्दा दुवै जना भिरबाट चार सय मिटर तल खसेको पाइएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी एकवल हवारीले अनलाइनखबरलाई बताए ।उनका अनुसार प्रहरीले आइतबार साँझै दुवै जनालाई उद्दार गरेर अस्पताल लैजाने प्रयास गरेको थियो । तर, बाटोमै दुवैको मृत्यु भएको उनले बताए । लिसी गाउँपालिकाका अनुसार ज्यान गुमाउने प्रकाश नेपाली कांग्रेसका जिल्ला सदस्य हुन् भने दीपक वैदेशिक रोजगारीका लागि मलेसिया गएर फर्किएका युवा हुन् ।

नेपाली कांग्रेसले यो घटना योजनाबद्ध भएको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरेर छानविन अघि बढाउन भनेको छ । कांग्रेस नेताहरुले कुटपिटमा संलग्न पक्ष माओवादी कार्यकर्ता भएको दाबी गरेका छन् । तर, प्रहरीले भने यो घटनामा राजनीतिक नजोडिदिन भनेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका डीएसपी ख्याम अर्याल भन्छन्, ‘यसलाई राजनीतिकरुपमा प्रहरीले हेरेको छैन, अपराधको निष्पक्ष अनुसन्धान गरिरहेका छौं ।’ बाग्लुङका डीएसपी हवारीले पनि घटनामा संलग्नहरुको पहिचान भइरहेको बताउँदै निगरानी थालिएको बताए ।प्रहरीका अनुसार घटनामा संलग्नहरु चाँडै पक्राउ पर्नेछन् र थप अनुसन्धान सुरु हुनेछ ।

 

Your Views
Related News