राष्ट्रपति जो बाइडन उत्तर कोरियाली नेता किम जङ-अनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले पुष्टि गरेको छ।

अमेरिकी अधिकारीहरू भन्छन्, उत्तर कोरियाप्रति राष्ट्रपति बाइडनको रवैया उनका पूर्ववर्ती डोनल्ड ट्रम्पको भन्दा फरक हुनेछ।बाइडनले किमलाई भेट्न किन चाहेका छैनन् भन्नेबारे ह्वाइट हाउसले केही उल्लेख गरेको छैन।एकअर्कालाई धम्की दिने गरेको एक वर्षपछि सन् २०१८ मा ट्रम्प र किमबीच पहिलो पटक सिङ्गापुरमा भेटवार्ता भएको थियो।उत्तर कोरियाली नेतालाई भेट्ने ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति थिए।

अमेरिकी प्रयास

त्यसको एक वर्षपछि सन् २०१९ मा दुई नेताबीच कोरियाली असैनिकीकृत क्षेत्रमा भेटघाट भएको थियो।दुई साताअघि बाइडन प्रशासनले गत फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरिए पनि प्योङ्याङबाट कुनै जबाफ नपाएको बताएको थियो।

अधिकारीहरूका अनुसार बढ्दो तनावलाई मत्थर पार्न वाशिङ्टनबाट प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरिएको थियो।प्योङ्याङसँग सम्पर्क गर्ने प्रयासअन्तर्गत न्यूयोर्क च्यानल भनिने संयुक्त राष्ट्रसङ्घमा रहेको उत्तर कोरियाली नियोगलाई समेत प्रयोग गरिएको अधिकारीहरूले बताएका थिए।

तस्बिर स्रोत,GETTY IMAGES

एक अमेरिकी अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार उत्तर कोरियासँग ‘कैयौँ पटक’ सम्पर्क गर्न खोजिए पनि १२ महिनाभन्दा बढी समयमा कुनै अर्थपूर्ण सम्पर्क स्थापना हुन सकेन।त्यो अवधिमा ट्रम्पको कार्यकालको अन्तिम वर्षको धेरैजसो समय पनि समेटिन्छ।

असहज सम्बन्ध

उत्तर कोरियाली पारमाणविक तथा बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लिएर दुई देशबीच लामो समयदेखि असहज सम्बन्ध रहेको छ।किम र उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जो बाइडन अमेरिकी राष्ट्रपति बनेको कुरालाई अझै आत्मसात् गरिनसकेको बताइन्छ।बाइडनले उत्तर कोरियाका लागि अमेरिकी नीतिको समीक्षा गर्ने घोषणा गरिसकेका छन्।

सन् २०१७ मा उत्तर कोरियाले अमेरिकी शहरहरूमा मार हान्न सक्ने क्षमताका क्षेप्यास्त्र परीक्षण गरेपछि दुई देशबीचको सम्बन्ध झन् बिग्रिएको थियो।कोरोनाभाइरस महामारीका कारण अहिले बाह्य विश्वको सम्पर्कबाट अलग्गिएको उत्तर कोरियाका सीमा पनि एक वर्षदेखि बन्द छन्।

 

Your Views
Related News