ताइवानमा झन्डै ५०० यात्रु सवार एउटा रेल सुरुङभित्र पटरीबाट बाहिर निस्किएपछि भएको दुर्घटनामा कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उक्त घटनामा दर्जनौँ मानिसहरू घाइते भएका छन्।

ताइवानको केन्द्रीय आपत्कालीन सेवा निकायका अनुसार उद्धारकर्ताहरूले नराम्रोसँग क्षति पुगेका डिब्बासम्म पुग्न ठूलो सङ्घर्ष गर्नुपरेको थियो।उक्त रेल राजधानी ताइपेईबाट ताइतुङतर्फ गइरहेको थियो।

सप्ताहव्यापी वार्षिक बिदाका लागि बाहिर जान लागेका मानिसहरू उक्त रेलमा यात्रा गरिरहेका थिए।रेल भरिएको हुनाले धेरै मानिसहरूले उभिएर यात्रा गरेको हुनसक्ने बताइएको छ।उक्त रेल प्रतिघण्टा १३० किमोमिटर को गतिमा कुद्न सक्ने क्षमताको थियो।

शक्तिशाली कम्पन

उक्त रेल स्थानीय समयानुसार बिहानको ९ बजे पटरीभन्दा बाहिर निस्किएको ठानिएको छ।स्थानीय सञ्चारमाध्यमका अनुसार निर्माणकार्यमा प्रयोग भएको एउटा सवारीसाधन रेलमार्गमा आएपछि उक्त दुर्घटना भएको हो।

अनलाइनमा राखिएका तस्बिरहरूमा प्रभावित नभएका डिब्बाका यात्रुहरू आफ्नो समान लिएर रेलको पटरीमा हिँडिरहेको देख्न सकिन्छ।”मैले अकस्मात् एउटा शक्तिशाली कम्पन महसुस गरेँ अनि आफूलाई भुइँमा लडिरहेको अवस्थामा पाएँ,” नाम नखुलाइएकी एक यात्रुले ताइवानको यूडीएन सञ्चारमाध्यमलाई भनिन्।”हामीले रेलको छानोसम्म पुगेर बाहिर निस्किनका लागि झ्याल फुटायौँ।”

दशकौँयताकै नराम्रो रेल दुर्घटना

शुक्रवारको दुर्घटनालाई उक्त टापुमा भएको दशकौँयताकै एउटा सबैभन्दा नराम्रो रेल दुर्घटनाका रूपमा लिइएको छ।सन् २०१८ मा एउटा रेल दुर्घटनामा पर्दा १८ जनाले ज्यान गुमाएका थिए।

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन,ताइवानको सरकारले फसिरहेका मानिसहरूको उद्धार उच्च प्राथामिकतामा रहेको जनाएको छ

ताइवानको इतिहासकै खराब रेल दुर्घटना सन् १९९१ मा भएको थियो।त्यस बेला दुईवटा रेल एकआपसमा ठोकिँदा ३० जना यात्रुको निधन भएको थियो भने ११२ जना घाइते भएका थिए।रेलमा यात्रा गरिरहेका अधिकांश टूम स्वीपिङ फेस्टिभल भनिने एउटा चाड मनाइरहेका मानिसहरू भएको ठानिएको छ।

उक्त पर्व मनाउन क्रममा मानिसहरू आफ्ना मित्र र परिवारको सदस्यहरूको समाधिस्थलको भ्रमण गर्छन् र त्यहाँ प्रार्थना गर्छन्।मृतकहरूलाई सम्मान गर्न वर्षको यो अवधिमा मानिसहरू त्यस्तो यात्रा गर्ने गर्छन्।स्थानीय सञ्चारमाध्यमले ज्यान गुमानेमध्येमा रेलका चालक पनि रहेको उल्लेख गरेका छन्।ताइवानकी राष्ट्रपतिले दुर्घटनाग्रस्त रेलमा फसिरहेका मानिसहरूको उद्धार सरकारको उच्च प्राथमिकता भएको उल्लेख गर्दै विज्ञप्ति जारी गरेकी छन्।

 

Your Views
Related News