कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा केही वरिष्ठ सन्तसहित एक हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ।

दुई महिनासम्म चल्ने उक्त मेलाको एउटा मुहूर्तमा मङ्गलवार ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए। लाखौँ मानिसले बुधवार पनि पवित्र गङ्गा नदीमा स्नान गरेको अधिकारीहरूले बताएका छन्।भारतमा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढिरहेको भए पनि उक्त तीर्थस्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका हुन्।

भारतमा गत वर्ष कोभिड महामारी सुरु भएपछि अहिलेसम्मकै सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि भएको छ।बिहीवार बिहान भारत सरकारले २४ घण्टाको अवधिमा २,००,७३९ कोभिड देखिएको तथ्याङ्क सार्वजनिक गरेको छ। सो अवधिमा १,०३८ सङ्क्रमितको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।बुधवार १,८४,३७२ जनामा कोभिड पुष्टि भएको छ।महामारी फेरि उत्कर्षमा पुग्न लागेका बेला उक्त मेला आयोजना गर्न दिइएको भन्दै सरकारको आलोचना भएको छ।

लाखौँले गरे गङ्गास्नान

स्थानीय अधिकारीहरूका अनुसार बुधवार दिउँसोसम्म नौ लाख श्रद्धालुले गङ्गास्नान गरिसकेका थिए।बुधवार यसपालिको सबैभन्दा राम्रो मुहूर्त भएको मानिएको थियो।हिन्दूहरू गङ्गा नदीलाई पवित्र मान्छन् र त्यसमा डुबुल्की मारेर स्नान गर्दा पाप नष्ट हुने र पुण्य प्राप्त हुने मान्यता राख्छन्।

बुधवार मध्याह्नसम्म नौ लाख मानिसले गङ्गास्नान गरेको अधिकारीहरूले बताएका छन्

तस्बिर स्रोत,REUTERS

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलवार गङ्गास्नान गरेका थिए।स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा प्रेषित केही सामग्रीमा उनले स्नान गर्न लागेको दृश्य देखिन्छ।सामाजिक सञ्जालमा ज्ञानेन्द्रले भारतीय सञ्चारमाध्यमलाई हरिद्वारबाटै प्रतिक्रिया दिएको भिडिओ पनि छ।

तस्बिर स्रोत,PHANIRAJ PATHAK

नेपाली भाषामा बोल्दै उनले आफूले पहिला पनि हरिद्वारको भ्रमण गरेको तर यसपालि कुम्भमेलामा सहभागी हुन आएको बताएका छन्।पूर्वराजासँगै यात्रा गरिरहेका उनका सहयोगी फणिराज पाठकले ज्ञानेन्द्र बुधवार सडकमार्ग हुँदै दिल्ली फर्किएको बताएका छन्।पाठकका अनुसार बिहीवार पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ।उनी आइतवार नेपाल फर्किने योजनासहित हरिद्वार जान काठमाण्डूबाट नयाँ दिल्ली उडेका थिए।हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्रको केही साधुसन्तसँग भेटघाट पनि गरेका थिए।

Presentational white space

अधिकारीको भनाइ

गङ्गाको तटमा ठूलो भिड जम्मा भएकाले सुरक्षा मापदण्ड पालन गराउन समस्या भएको प्रहरी अधिकारीहरूले बताएका छन्।उक्त मेलामा कोभिड-१९ को परीक्षणको नेतृत्व गरेका अधिकारीहरूले बीबीसीलाई बताएअनुसार त्यस क्षेत्रबाट मङ्गलवार २०,००० हजार नमुना परीक्षण गरिएकोमा ११० जनामा सङ्क्रमण देखिएको थियो। सोमवार १८४ जना भक्तजनमा सङ्क्रमण देखिएको थियो।

तस्बिर स्रोत,REUTERS

बीबीसी हिन्दीका अनुसार बिहीवार बिहानसम्म झन्डै १,३०० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।

तस्बिर स्रोत,REUTERS

कुम्भमेलाका स्वास्थ्य अधिकारी डा. अर्जुन सेङ्गरले नौ वरिष्ठ धार्मिक नेतामा पनि सङ्क्रमण पुष्टि भएको बताए।

चौधवटा हिन्दू समूहहरूको सङ्घका अध्यक्ष नरेन्द्र गिरी पनि सङ्क्रमित भएका छन्। उनी अखिल भारतीय आयुर्वेदिक संस्थान हरिद्वारमा भर्ना भएका छन्।

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव पनि सङ्क्रमित भएका छन्।

उनले आइतवार मात्र हरिद्वार भ्रमण गरेका थिए र गिरीसहित वरिष्ठ सन्तहरूलाई भेटेका थिए।

उक्त मेलामा भ्रमण नगरेका भए पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सङ्क्रमित भएका छन्।

Presentational white space

उत्तराखण्डका मुख्यमन्त्री तिरथसिंह रावतले आफूहरूले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालन गरिरहेको र सङ्क्रमित निको हुने दर राम्रो रहेको बताए।सरकारले पहिले परीक्षणबाट कोरोनाभाइरस सङ्क्रमण नभएको पुष्टि भएका व्यक्तिलाई मात्र उक्त मेलामा सहभागी हुन दिने बताएको थियो।त्यस्तै त्यहाँ भौतिक दूरी कायम गरिने दाबी गरिएको थियो।तर त्यहाँ ती मापदण्डहरू पालना नभएका खबरहरू आएका छन्।

 

Your Views
Related News