काठमाडौँ — नेपाल विद्युत्‌ प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालको ठूलो चुनौती स्वीकारेर आएको बताएका छन् ।प्राधिकरणमा बुधबार कार्यभार सम्हाल्ने क्रममा कार्यकारी निर्देशक घिसिङले फेरि एकपटक ‘रिस्क’ लिएको बताएका हुन् ।

‘दोस्रो कार्यकाल ठूलो चुनौती स्वीकारेर आएको छु । यो भन्दा ठूलो चुनौती व्यक्तिगत जीवनमा अरु छैन । प्राधिकरणको आवश्यकता र सरकारले जिम्मेवारी दिने कुरा आयो र आम जनमानसमा प्राधिकरणमा एकचोटी आउनुपर्‍यो भनेर मैले फेरि ‘रिस्क’ लिएको छु,’ उनले भने ।

प्राधिकरणको चुनौती एक्लैले मोल्न सक्ने अवस्था नरहेको भन्दै घिसिङले टिमवर्कमा जोखिम मोल्नु पर्नेमा जोड दिए । अबका दिनमा अगाडि कसरी बढ्ने, प्राधिकरणको हाइट कसरी माथि लाने भन्ने कुरामा केन्द्रित हुने कार्यकारी निर्देशक घिसिङको भनाइ थियो ।

आफू के-के न गर्ने योजनासहित नआएको भन्दै उनले सुशासन र गुणस्तरीय सेवा प्रवाह प्रमुख रुपमा अगाडि लैजाने, सरकारले उर्जा क्षेत्रमा दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए । नेपाल विद्युत्‌ प्राधिकरणको चर्चा विश्वमै रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले उपलब्धिको श्रेय आफूहरुले मात्रै नलिने बताए । ‘नेपाल विद्युत् प्राधिकरण विश्वमै चिनिएको छ । सरकारमा को आयो भन्दा पनि विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशक को हुनु पर्छ भन्ने चर्चा हुने गरेको छ । यो प्राधिकरणको उपलब्धि हो । यो मैले मात्रै क्रेडिट लिने होइन । टिमकै उपलब्धि हो ।’

 

 

Your Views
Related News