काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् । प्रदेश प्रमुख विष्णु प्रसाईलाई पदमुक्त गरे लगत्तै राष्ट्रपति भण्डारीले  शर्मालाई नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए । विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/३ गतेको बैठकको निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री यादवचन्द्र शर्मा, संखुवासभालाई बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई हटाएर शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। शर्मा माधव नेपाल २०६५ मा प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए। उनी नेता नेपालको सचिवालयमा लामो समयदेखि काम गर्दै आइरहेका छन्। नेकपा एमाले विभाजन लगत्तै प्रसाईलाई हटाएर सरकारले यादवलाई प्रदेश प्रमुख सिफारिस गरेको हो। प्रसाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट हुन्। एमाले विभाजनपछि नेपाल पक्षलाई सत्तामा जिम्मेवारी दिन थालिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सत्ताको जिम्मेवारी पाउने नेपाल पक्षका उनी  पहिलो व्यक्ति हुन्।

नेकपा एमाले समाजवादीका अध्यक्ष नेपालले आफ्ना विश्वास पात्र शर्मालाई केपी शर्मा ओलीको प्रधानमन्त्री कार्यकालमा राजदूत बनाउने प्रयास गरेका थिए। तर ओलीले उनको सट्टामा निकटकै एमाले नेता बंशीधर मिश्रलाई बंगलादेशको राजदूत बनाएका थिए।

पदमुक्त भएका प्रसाईलाई ओली नेतृत्वको तत्कालिन सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते बागमती प्रदेश प्रमुख नियुक्त गरेका थिए। झापाको मेची नगर नगरपालिकाको मेयरमा पराजित भएका थिए। उनी २०५४ सालमा झापा जिल्ला विकास समितिको उपसभापति थिए।

 

Your Views
Related News