काठमाडौँ — गत आर्थिक वर्षमा जग्गा कारोबार ४६.६९ प्रतिशत बढेको देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को तथ्यांकले यस्तो देखाएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा १२ लाख ११ हजार ३ सय ६७ संख्या जग्गा कारोबार भएकोमा २०७७/७८ मा १७ लाख २८ हजार ५ सय २९ पुगेको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७५/७६ मा भने १० लाख ७७ हजार ८ सय १६ संख्या जग्गाको कारोबार भएको विभागले बताएको छ ।

गत आर्थिक वर्षमा निषेधाज्ञाका कारण रोकिएका जग्गा कारोबार भएकाले किनबेच बढी देखिएको विभागका प्रवक्ता गुरुदत्त सुवेदीले बताए । ‘२०७६/७७ मा मा चैतदेखि असारसम्म कारोबार भएन,’ उनले भने, ‘साउनबाट खुल्नेबित्तिकै रोकिएका कारोबार बढे । त्यसैले तथ्यांकमा वृद्धि देखियो ।’ वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्ससमेत जग्गामा लगानी भइरहेकाले कारोबार बढेको हुन सक्ने उनको भनाइ छ । ‘पहिला कित्ताकाट र जग्गाधनीको संख्या कम थियो,’ उनले थपे, ‘अहिले प्रत्येक वर्ष कित्ताको संख्या बढिरहेको छ ।’

विभागले यसबापत २०७५/७६ मा ३२ अर्ब ६१ करोड १८ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै २०७६/७७ मा ३४ अर्ब ८४ लाख ७५ लाख १० हजार र २०७७/७८ मा ५२ अर्ब ९६ करोड ७२ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कोभिड संक्रमणबाट जोगिन सरकारले निषेधाज्ञा जारी गर्दा जग्गाको कारोबार ठप्प थियो । सहज हुँदै जाँदा कारोबार हुन नसकेका जग्गाहरूको किनबेच बढेको हो । अहिले लगानीकर्ताहरूसमेत जग्गा कारोबारमा आकर्षित भएका छन् । अन्य क्षेत्रभन्दा जग्गामा लगानी गर्न कम जोखिम भएकाले लगानीकर्ता यसतर्फ लागेको सुवेदीले बताए ।

 

Your Views
Related News