पोखरा : पोखरामा गत २४ घण्टामा यस वर्षकै धेरै वर्षा भएको छ । बिहान ८ : ४५ मा जल तथा मौसम विज्ञान विभागले प्रकाशन गरेको २४ घण्टाको देशरभरको मौसमी विवरणमा पोखरामा २६०.१ मिलिमिटर पानी परेको जनाएको छ । यस वर्ष अहिलेसम्म यो नै २४ घण्टामा सबैभन्दा धेरै पानी परेको रेकर्ड हो ।

पोखरामा गत वर्ष जुलाई १० मा १५०.९ मिलिमिटर पानी परेको थियो । २४ घण्टामा सबैधन्दा धेरै पानी परेको पोखराको रेकर्ड भने सन् २००१ को अगष्ट १८ मा ३ सय ५७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका मौसम विज्ञान सहायक सरोज अधिकारीले जानकारी दिए ।

पोखरामा ५० वर्ष यता सबैभन्दा धेरै पानी परेको रेकर्ड भने गत वर्ष बनेको थियो । गत वर्ष मनसुन अवधिमा ५४ सय ५३.२ मिलिमिटर पानी परेको थियो । यो रेडक पोखरामा वर्षा मापन हुन थालेको सन् १९६८ यताकै धेरै रहेको अधिकारीले बताए । यस वर्ष भने २३ अगष्ट सम्म ३ हजार ४ सय २५ मिलिमिटर पानी परेको मेट्रोलोजिष्ट अधिकारीले जानकारी दिए । सेप्टेम्बर २३ सम्म मौसम अवधि हो ।

महेन्द्रपुलमा जमिन भासियो

अबिरल वर्षा पछि पोखराको व्यस्त बजार महेन्द्रपुलमा जमिन भासिएको छ । महेन्द्रपुलको सेलवेज पारी सडक भासिएर भ्वाङ परेको छ । जमिन भासिदा घरसँगैको सडकको पेटी पनि दबेपछि घर पनि जोखिममा परेका छन् ।

जमिन भासिएको ठाउँ पुर्ने काम अहिले भइरहेको पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए । राति नै जमिन भासिएको जानकारी पाएपछि वर्षाको भेल नियन्त्रण गर्ने काम भएको थियो ।

प्राविधिक टोलीसहित पोखरा महानगरपालिकाका उपमेयर मञ्जु देवी गुरुङसहितको टोलीले जमिन भासिएको क्षेत्रको अवलोकन गरेर समस्याको दिगो समाधान गर्ने गरी ग्रयाबलले भ्वाङ पुर्ने काम भइरहेको पनि उनले सुनाए । भ्वाङ पुरेपछि बलीयो कंक्रिट डलान गरेर भासिएको फुटपाथ पनि बनाइने प्रवक्ता नेपालीले बताए ।

ठूलो वर्षा भइरहँदा नालाको मुखदेखि पालिखेचोकहुँदै आएको भेलले महेन्द्रपुलमा जमिन खोतल्दा भ्वाङपरेको हो । पानीको उचित व्यवस्थावन नहुँदा पोखराको ठाउँ ठाउँमा बेलाबेलामा जमिन भाँसिने गरेको छ । जमिन भाँसिदा ४ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

वर्षा याममा जमिन मुनिको चुन पग्लिदा भ्वाङ पर्ने समस्या 

१२ हजार वर्ष अघि र ८ सय वर्षअघि कचौरा जस्तो पोखरा उपत्याकामा अन्नपूर्ण हिमशृङ्खलाबाट आएको भीषण बाढीले गेगर, ढुङ्गा, बालुवा र चुनयुक्त लेदो बलौटे माटो थुपारेको हो ।

यही भौगोलिक संवेदनसिलतालाई ध्यानमा राखेर पानीको उचित व्यवस्थापनर विकास निर्माणको काम हुनुपर्ने पोखरामा प्राकृतिक प्रकोप र विपद् विषयमा फ्रान्सको पेरिस विश्व विद्यालयबाट विद्यावारिधि गर्दै गरेको जियो टेक्निकल इन्जिनियर नारायण गुरुङ बताउँछन् ।

पोखरामा भीषण बाढीले थुपारेको गेगर, ढुङ्गा, बालुवा र चुनयुक्त लेदो सहितको नयाँ जमिनको भित्री भागमा पानी पस्दा चुन पग्लन्छ । जमिनभित्रको चुनले ओगटेको भाग पग्लिएपछि जमिन भाँसिने समस्या हुँदै आएको इन्जिनियर गुरुङ बताउँछन् ।

पोखराको अर्मलामा केही वर्ष अघि यस्तो समस्या बढी भएको थियो । अहिले भने त्यस क्षेत्रमा जमिन भासिने समस्या नियन्त्रणमा आएको छ । पोखरामा वर्षा यामको भलपानीले बाटो नपाउँदा जमिन भासिने समस्या बर्षेनि हुने गर्दछ । बाटो भत्किँदा, खानेपानीको लाइन विस्तार गर्दा उचित रुपमा खाल्टो नपुर्दा, पानीको निकास व्यवस्थित नुहँदा पनि यो समस्या हुने गरेको छ ।

सेतीमा ताल, फेवाको सतह बढ्यो

पोखरामा गत २४ घण्टामा अहिलेसम्म यस वर्षकै सबैभन्दा धेरै पानी पर्दा साँघुरो सेतीको गल्छी कारण पानी थुनिँदा पोखराको रामघाटमा ताल बनेको छ । ठूलो वर्षाको कारण फेवातालको सतह पनि बढेको छ । तालमा पर्यटकलाई लक्षित गरेर राखिएका डुंगा पानीले भरिएका छन् । सोमबार बिहान फेवातालमा पुग्दा डुंगा व्यवसायी पानीले भरिएको डुंगाको पानी फ्याँक्न व्यवस्त देखिन्थे ।

 

Your Views
Related News