काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी, विभागको प्रमुख र जिल्लाको इन्चार्ज तोकेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी र विभागको प्रमुख तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज : कसलाई कहाँ जिम्मेवारी ?

‘बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारीहरु, जिल्ला समितिका जसलाई अहिले जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको छ, इन्चार्जहरु तोक्ने काम भएको छ।’ उनले भने,‘त्यसैगरी पार्टीका विभिन्न विभागहरुको प्रमुखहरु तोक्ने काम भएको छ।’ उनका अनुसार बैठकले जिल्ला समन्वय समितिका संयोजक तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ।

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई केन्द्रविन्दुमा राखेर वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको श्रेष्ठले जानकारी दिए।

बैठकले कम्युनिष्टहरुसँगको एकता र ध्रुवीकरणका लागि पहल गर्ने निर्णय गरेको छ। श्रेष्ठले नेपालका सबै कम्युनिष्टलाई एक बनाउन बहस सुरु गर्ने बताउँदै थपे, ‘आजको आवश्यकता भनेको कम्युनिष्ट आन्दोलनलाई समाजवाद निर्माण गर्नु हो।’

स्थायी कमिटी बैठकले अन्य कम्युनिष्ट पार्टीसँग एकीकरणको लागि वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल सदस्य रहेको कार्यदलसमेत बनाएको छ।

को-को तोकियो प्रदेश इन्चार्ज ?

माओवादी केन्द्रले प्रदेश नं २ मा स्थायी कमिटी सदस्य गणेश शाह, बागमती प्रदेशमा हितमान शाक्य,गण्डकी प्रदेशमा हितराज पाण्डे इन्चार्जको जिम्मेवारी तोकेको छ।

यसैगरी लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा शक्ति बस्नेत, सुदूरपश्चिम प्रदेमा खगराज भट्ट इन्चार्ज तोकिएका छन्। प्रदेश नं. १ मा भने कसलाई इन्चार्ज बनाउने टुंगिएको छैन।

 

Your Views
Related News