काबुलको हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बिहीवार दुईवटा शक्तिशाली बम विस्फोट भए।

तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट बाहिरिन अफगान र विदेशी नागरिकहरू विमानस्थलमा भिड गरिरहेको समयमा भएका ती घटनामा कम्तीमा ९० जनाको ज्यान गयो भने १५० जना घाइते भएका छन्।

अमेरिकी रक्षा मन्त्रालयले आक्रमणमा १३ अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

पश्चिमा सरकारले काबुलमा आक्रमण हुनसक्ने चेतावनी दिएको केही घण्टामा ती घटना भएका हुन्।अहिलेसम्म ती घटनाबारे थाहा भएका कुराहरू यस प्रकार छन्:

विमानस्थलबाहिर विस्फोट

पहिलो विस्फोटन स्थानीय समयानुसार बेलुकी ६ बजे ब्यारन होटलनजिकै र विमानस्थलको घेराबाहिर भएको थियो।

सो होटल ब्रिटिश अधिकारीहरूले यूके जान चाहने अफगान नागरिकहरूको कागजपत्र हेर्न प्रयोग गरिरहेका छन्।पहिलो बम विस्फोटन भएपछि बन्दुकबाट गोली चलाइएको र त्यसपछि विमानस्थलको एउटा प्रमुख प्रवेशद्वारनजिकै दोस्रो विस्फोटन भएको थियो।

समाचारहरूका अनुसार दोस्रो विस्फोट फोहोर पानी बग्ने ढलनजिकै भएको थियो र त्यहाँ अफगान नागरिकहरू कुरिरहेका थिए।विस्फोटका कारण केही मानिसहरू ढलको पानीमा पुगेका थिए। अमेरिकी अधिकारीका अनुसार कम्तीमा एक आक्रमणकारीले विस्फोटक पदार्थ भिरेका थिए।

आबी गेटमा हालै अमेरिकी र ब्रिटिश सेनाले पहरा दिन सुरु गरेका थिए।कसैले एक आक्रमणकारीले भिडमा गोली चलाएको बताए पनि समाचारमा तालिबान सुरक्षाकर्मीले हावामा गोली चलाएको बताइएको छ।

मृत्यु सङ्ख्या

आक्रमणमा मारिने अमेरिकी र तालिबानसहित अफगान नागरिकको कुल सङ्ख्या पुष्टि भइसकेको छैन। त्यो अझै बढिरहेको छ।अमेरिकी रक्षा मन्त्रालयले १३ सैनिक मारिएको र १५ जना घाइते भएको बताएको छ।काबुलका एक वरिष्ठ स्वास्थ्य अधिकारीले बीबीसीलाई कम्तीमा ९० जना मारिएको र १५० घाइते भएको बताएका छन्।

 

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा घाइतेहरूलाई गाडामा हालेर उपचारका लागि लगिएको देखिएको छ।

सो स्थानमा उद्धारको आशामा ठूलो भिड जम्मा भएको थियो।

केही देशको उद्धार सकिएको छ

आक्रमणपछि हजारौँ मानिसहरूलाई अफगानिस्तानबाहिर लग्ने उद्धार अभियानलाई असर पार्ने बताइएको छ।आक्रमणअघि नै जर्मनी, नेदरल्यान्ड्ड र क्यानडा लगायतका केही देशले अब थप उडान गर्न नसक्ने बताएका थिए।सो विमानस्थलमा छ वर्षदेखि सुरक्षा प्रदान गर्न खटिएको टर्कीको सेना पनि फर्किने घोषणा गरिएको छ।

कसले आक्रमण गरेको हो?

आक्रमणको जिम्मा ‘आईएसआईएस-के’ समूहले लिएको छ।पूरा नाम इस्लामिक स्टेट खोरासन प्रोभिन्स भएको सो समूह अफगानिस्तान र पाकिस्तानमा सक्रिय चर्चित आईएस समूहको क्षेत्रीय सहयोगी हो।

अफगानिस्तानमा रहेका विद्रोही समूहमध्ये यो सबैभन्दा अतिवादी र हिंसात्मक समूह हो।इराक र सिरियामा आईएस सबैभन्दा शक्तिशाली रहेको बेला सन् २०१५ को ज्यानुअरीमा यसको गठन गरिएको हो।

 

Your Views
Related News