साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०० अंक भन्दा बढीले घटेको छ। यस दिन नेप्से परिसूचक ३.७० प्रतिशत अर्थात १०८.२६ अंक घटेर २८१८.७२ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको थियो। बजार खुलेको २ घण्टा नबित्दै नेप्से ५ प्रतिशत घटेपछि सर्किट ब्रेक लागि ४० मिनेटको लागि बजार बन्द भएको थियो। त्यसपछि खुलेको बजारमा केही सुधार हुँदै ३.७० प्रतिशत घटेर बन्द भएको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.६५ प्रतिशत अर्थात १९.७६ अंक घटेर ५२२.०१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ७.४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४२ अंक घटेको छ।

यस दिन २२३ कम्पनीको १ लाख २९ हजार १४२ पटकको कारोबारमा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार कारोबारमा आएका २२३ कम्पनीमध्ये एक दर्जन कम्पनीको शेयर १० प्रतिशत घटेको छ भने २० कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन यूनिभर्सल पावर कम्पनी, रिलायन्स फाइनान्स, जानकी फाइनान्स, नारायणी विकास बैंक, नेपाल फाइनान्स, अरुण काबेली, सीईडिबी हाइड्रो, समृद्धि फाइनान्स, गुडविल फाइनान्स, हिमालयन उर्जा, आइसीएफसी फाइनान्स र रु रु जलविद्युतको शेयरमूल्य १० प्रतिशत घटेको हो। यस दिन १४ कम्पनीको मात्र शेयरमूल्य बढेको छ। जसमध्ये सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ।

यस दिन पनि १३ वटै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.०१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंकको परिसूचक ७.२१ प्रतिशत, हाइड्रोपावरको ६.५१ प्रतिशत र व्यापारको ६.०५ प्रतिशत घटेको छ। कारोबारमा आएको होटल तथा पर्यटन, अन्य र लगानी उपसमूहको परिसूचक यस दिन ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७० करोड ३३ लाख ३० हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

 

Your Views
Related News