साताको दोस्रो कारोबार दिन, नेप्से परिसूचक करिब ६ प्रतिशत बढेर बन्द भएको छ। मार्जिन कर्जामा १२ करोडको सीमाको त्रासले घटेको बजार, यस दिन अर्थमन्त्री र गर्भनर बीचको टेलिफोन वार्ताको समाचार पछि उच्च दरमा बढ्न थालेको हो।

यस दिन शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर बीच टेलिफोन कुराकानी भएको थियो। सो कुराकानीमा गभर्नरले आवश्यक प्रक्रिय मिलाई परिस्थिति सहज बनाउने समाचार बाहिरिएसँगै नेप्से उच्च दरमा बढेको हो।

यद्यपि, सो भन्दा अघि पनि बजार बढ्दो क्रममा नै रहेको थियो। तर, त्यस समाचारले लगानीकर्ताहरुको मनोबल बढाएको जानकारहरु बताउँछन्। अघिल्लो दिन उच्च दरमा बजार घटेको मौका छोपी शेयर खरिद गर्दा बढेको बजार सो समाचारपछि झन् बढ्न पुगेको उनीहरुको भनाइ छ।

सोमबार नेप्से परिसूचक ५.७४ प्रतिशत बढेर २९८०.७८ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६.०२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ११.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १०.४४ अंक बढेको छ। यस दिन २२४ कम्पनीको १ लाख ९ हजार पटकको कारोबारमा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से उच्च दरमा बढेको दिन ४२ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ। कारोबारमा आएका २२४ कम्पनीमध्ये जम्मा ८ कम्पनीको मात्र शेयरमूल्य घटेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये विकास बैंक, जलविद्युत र वित्त उपसमूहको परिसूचक ९ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक ८.३८ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

 

Your Views
Related News