![](https://jalpakhabar.com/wp-content/uploads/2021/09/7869ED9C-4347-4264-A16D-2822D04F3CD2.jpeg)
संखुवासभा : जिल्ला सदरमुकाम खाँदबारीबाट चैनपुर–मादी हुँदै खरबोटे पुग्न गाडीमा तीन घन्टा लाग्छ । त्यहाँबाट करिब दुई घण्टा उकालो हिँडेपछि पुगिन्छ, मादी नगरपालिका वडा नं. १ को खोलागाऊँ ।
यो त्यही गाउँ हो, जहाँ सोमबार एकै परिवारको ६ जनाको सामूहिक हत्या भएको छ । स्थानीय ९२ वर्षीय बौद्धमान कार्कीको परिवारका ६ सदस्यको हत्यापछि गाउँले त्रसित छन् ।
वडामै रहेको प्रहरी चौकीबाट सुरक्षाकर्मी पुग्न दुई घण्टा लाग्थ्यो । अहिले गाउँमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), प्रदेश प्रहरी कार्यालय, बिराटनर, संघीय प्रहरी कार्यालय, धरान र जिल्ला प्रहरी कार्यालय, संखुवासभाको सिंगो टोली छ ।
तर सामूहिक हत्यामा संलग्न भएकाहरुको पत्ता नलागेकाले त्रासमा दिन कट्नु परेको स्थानीयबासी बताउँछन् । ‘अहिले पनि हात, खुट्टा कामिरहेको छ,’ घटनास्थल नजिकै भेटिएका स्थानीय नन्दकुमार कार्की भन्छन्, ‘मेरो छोरीसँग दुई जना बच्चाहरु पढ्थे, उनीहरुको हत्या भएको सुन्दा पत्याउनै सकिरहेको छैन ।’
उनका अनुसार मानिसहरु घाँस काट्न जान समेत डराउँछन् । ‘प्रहरी चौकी नजिकमा छैन, गाउँमा प्रहरी राखिदिए हुन्थ्यो’ उनी भन्छन्, ‘चाँडोभन्दा चाँडो अपराधीलाई कठघारामा खडा नगरिए हामी बाँच्नै गाह्रो छ ।’
‘एकैछिनमा भद्रगोल भएछ’
सोमबार बिहान ९ बजेतिर छिमेकी रामबहादुर खतिवडालाई फोन आयो, ‘कार्की आमै फेरि विरामी भइन्, झारफूक गर्न तुरुन्त जानु पर्यो ।’
उनका अनुसार बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की बेलाबेला मुर्छित भइरहन्थिन् । केही वर्षअघि मानिसहरुले मृत्यु भइसकेको भनेर घाट लैजाने पनि तयारी गरेका थिए । तर एकाएक होस आयो । सोमबार पनि बौद्धमान पार्वती फेरि बेहोस् भएको भन्ने बुझे र झरफुक गर्ने रामबहादुरलाई खबर गर्न लगाए ।
तर उनी नपुग्दै खबर आयो, ‘कार्की परिवार त सखाप भइसक्यो ।’ उनले झारफुक गर्ने भनिएकी पार्वतीको सुतकै ठाउँमा हत्या भएको थियो भने अरुका शव अन्यत्र भेटिएको छ ।
‘गाउँमा कोहीसँग कार्की परिवारको दुस्मनी पनि थिएन, साह्रै मिलनसार थिए’ रामबहादुर भन्छन्, ‘सबैलाई मारेको भनेर लाश देख्दा पनि पत्याउन गाह्रो परिरहेको छ ।’
स्थानीयको आशंका – घटनामा पेशेवर अपराधी
छिमेकी रणबहादुर कार्कीका अनुसार ठूलो छोरा बिहान साढे ८ बजेतिर सडक छेउमा शव देखेको भन्दै डराउँदै आए । त्यसपछि रणबहादुरसहित अन्य व्यक्ति गएर हेर्दा सडक छेउमा घोप्टो परेको अवस्थामा ५२ वर्षीय तेजबहादुर कार्कीको शव भेटियो ।
‘छोराले बढाबाउ भन्दै छुन खौज्दै थियो । मेले रोकेर वडाध्यक्ष र मेयरलाई खबर गरेँ’ उनी भन्छन् । कार्की परिवारको घरतिर जाँदै गर्दा खोल्सीमा बुहारी ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया रञ्जना कार्कीको शव देखेको उनी बताउँछन् ।
घरमा हेर्दा पार्वतीको शव खाटमै सिरक ओडेर लडिरहेको अवस्थामा देखेको रणबहादुरले सुनाए । ‘दुई जना बच्चा पनि थिए । उनीहरु कता होलान् भनेर खोज्दै जाँदा घरमाथि खरबारी छेउमा शव भेटियो,’ उनी भन्छन् । खराबरमिा भेटिएको शव तेजबहादुरका नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको थियो ।
छिमेकी नन्दकुमार घटनामा एकजनाको संलग्नता हुनै नसक्ने दाबी गर्छन् । ‘यो त परिवारै सिध्याएको घटना हो अझ खेदाउँदै मारेको घटना कसरी एक्लै सम्भव होला र ?’
सबै मृतकको टाउको पछाडि मात्र चोट भएकाले व्यवसायिक व्यक्तिको घटनामा संलग्नता हुनसक्ने स्थानीय ज्ञानबहादुर कार्की पनि अनुमान गर्छन् ।
बुढेसकालमा वृद्ध एक्लै
यो परिवारका ९१ वर्षीय बृद्ध बौद्धमान सकुशल छन्, जोन कान कम सुन्छन्, राम्ररी आँखा देख्दैनन् । उनी बेलुकी ६ बजेतिर खाना खाएर दलानमा सुतेका थिए । छेवैमा श्रीमती सुत्ने खाट थियो, उनको त्यही हत्या हुँदा पनि बौद्धमानले पत्तै पाएनन् ।
भन्छन्, ‘पहिले पनि बुढी वेला वेला सुतेको वेला मरेजस्तै हुन्थी, एकैछिनमा विउँझिएर खान खान्थी, घाँस काट्थी । त्यही सोचेँ, तर अर्कैको आँखा लागिसकेको रहेछ ।’
अहिले बेसाहारा भएका उनी ‘बरु मलाईलाई पनि मारिदिए हुन्थ्यो’ भन्दै भक्कानिने गरेका छन् । छिमेकी मदन घिसिङ भन्छन्, ‘एकदमै बेहोसी अवस्थामा हुनुहुन्छ ।’
घटनापछि बौद्धमानका एउटा नाती वैदेशिक रोजगारीाबाट घर फर्किएका छन् । ‘काठमाडौं आइपुगेको सुनेको छु, एक/दुई दिनमा आइपुग्छन् होला’ उनले भने ।
प्रहरी भन्छ – सबैको टाउकोमा गम्भीर चोट
अनुसन्धानमा खटिएका जिल्ला प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले मारिने सबैको टाउकोमा गम्भीर चोट देखिएको बताए ।
घटनास्थलको जाँच बुझका लागि बोलाइएका फरेन्सिक विज्ञले पनि धार नभएको हतियार प्रयोग गरेर टाउकोमा हिर्काइएको हुनसक्ने भनेका छन् । ‘अहिलेसम्म प्राप्त सूचनालाई विश्लेषण गरेर अनुसन्धान गरिरहेका छौं’ उनले भने, ‘अनुसन्धानमा सहयोग केन्द्र, प्रदेश र संघीय प्रहरीको टोली पनि खटिएको छ, चाँडै नतिजा दिन्छौं ।’
![](https://jalpakhabar.com/wp-content/uploads/2021/09/120A9F0D-C89B-453B-8E2F-6A5F10E23DED-300x200.jpeg)
प्रारम्भिक अनुसन्धानमा हत्याको कारण पैसासँग नजोडिएको उनी बताउँछन् । घरमा नगद र जिन्सी जस्ताको तस्तै भएकाले पहिले अनुमान गरिएजस्तो लुटपाट वा चोरी गर्ने उद्देश्यले घटना भएको नदेखिएको सुवेदी सुनाउँछन् ।
मादी नगरपालिकाका मेयर विदुरकुमार लिंथेप चाहिँ प्रहरीबाट चाँडै नतिजा निस्किनेमा आशावादी रहेको बताउँछन् । ‘अपराधी पत्ता नलागेसम्म मानिसहरुलाई डर पैदाहुने स्थिति देखियो’ उनी भन्छन्, ‘जतिसक्दो चाँडो आरोपीसम्म प्रहरी पुग्नुपर्छ, यसमा स्थानीयवासीको पनि सहयोग रहन्छ ।’