काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसम्पादनबाट आफू सन्तुष्ट हुन नसकेको बताएका छन् ।

शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा उनले संसदको कार्यसम्पादनमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको बताएका हुन् ।

‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन’ उनले भने, ‘कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्नेछ । इमानका साथ म यसमा केन्द्रित हुन्छु ।’

आफू सभामुख भएको दुई वर्षको अवधिमा दलहरुम आन्तरिक लोकतन्त्र कमजोर भएको देखेको पनि उनले बताए । ‘मैले सभामुखको जिम्मेवारी सम्हालेको करिब २ वर्ष हुन लाग्यो । मलाई गहिरो गरी अनुभूत भएको छ, सबैमा जिम्मेवारी वोध, कर्तव्य वोधको कमीका साथसाथै आन्तरिक लोकतन्त्र कमजोर भएको छ । दलहरुमा पनि’ उनले भने ।

सापकोटाले लोकतन्त्र भनेको अरुलाई उपदेश दिने विषय नभई आत्मसात गर्ने र व्यवहारमा प्रयोग गर्ने विषय भएको बताए ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधान कार्यान्वयनका लागि जनताले अनुभूत गर्ने गरी काम गर्नुपर्ने बताए । ‘त्यसमा हामी सांसदहरु बढी जिम्मेवार छौं । इतिहासको कठघरामा आनन्दित हुन अहिलेको काम गराइले सकिदैन ।’

उनले कानुन नबन्दा कतिपय मौलिक हक कार्यान्वयन हुन नसकेको पनि बताए ।

 

Your Views
Related News