वीरगन्ज : वीरगन्जस्थित कृषि सामाग्री कम्पनीको प्रादेशिक कार्यालयले मलको बिक्री बन्द गरेको छ। कार्यालयमा मलको मौज्दात सकिएपछि सूचना जारी गरेर केही दिन अघिदेखि मलको बिक्री बन्द गरेको हो।

हाल युरिया र डीएपी दुवै मलको मौज्दात सकिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि मलको बिक्री वितरण बन्द गरिएको बताइएको छ।

युरिया र डीएपी मल सकिएकाले थप मल प्राप्त हुने अनिश्चित भएको भन्दै बन्द गरिएको प्रादेशिक कार्यालय प्रमुख गोरखनाथ केसीले बताए। केसीले अब कम्तीमा २०÷२५ दिनपछि मात्रै कार्यालयमा युरिया र डीएपी मल आइपुग्ने जानकारी दिए।

मल आएपछि पछि मात्रै फेरि मलको बिक्री वितरण र परिचालन सुचारु हुने उनले बताए। उनका अनुसार नेपाल सरकारले सिंगापुरबाट खरिद गरेको ३० हजार मेट्रिकटन युरिया मल अहिले सामुद्रिक मार्गमै छ।

केसीले भने, ‘उक्त मल ४÷५ दिन पछि भारतको कलकत्ता बन्दरगाहमा आइपुग्छ। त्यहाँबाट रेलमार्ग हुँदै वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा आउन कम्तीमा पनि २० दिन लाग्छ।  सरकारले खरिद गरेको २५ हजार मेट्रिकटन डीएपी मल पनि एक महिना पछि मात्रै वीरगन्ज आइपुग्ने केसीले बताए।  वीरगन्जमा रहेको कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालयले भारत तथा तेस्रो मुलुकबाट नेपाल आयात गरिएको अनुदानको मल प्रदेश २ को पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषाका साथै काठमाडौं, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहुँ, नवलपरासी, रौतहट, पर्वत, सर्लाही, धनुषा, महोत्तरी, नुवाकोट, कास्की गरी १६ जिल्लामा आपूर्ति गर्दै आएको छ।

धानबालीमा युरिया मल हाल्ने बेलामै मलको अभाव भएर किसान  समस्यामा परेका छन्। कृषि सामग्री कम्पनीले मलको बिक्री वितरण बन्द गरिदिएपछि किसान थप समस्यामा परेका हुन्। धान रोपेको २५ देखि ३० दिनमा धानबालीमा ट्रप ड्रेसिङका लागि युरिया मल हाल्नुपर्छ।

 

Your Views
Related News